२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

राजधानीमा मनाए वाम्बुले राईले ढ्वाङ्कुमो



काठमाडौं, २३ साउन । राजधानीमा बसोबास गर्दै आएका वाम्बुले राईहरुले किरातचाड ढ्वाङ्कुमो धुमधामसँग मनाएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिको आयोजनामा राजधानीमा बसोबास गर्ने वाम्बुले राईहरुले किरातचाड ढ्वाङ्कुमो मनाएका हुन् ।

प्रत्येक वर्ष भदौपूर्णिमाका दिन मनाईने यो चाड राईहरुको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक तथा मौलिक भएको वाम्रासका महासचिव जिवन हाताचो राईले बताए । वाम्बुले राई समाज, नेपाल (वाम्रास) ले एक विज्ञप्ति जारी गर्दै ढ्वाङ्कुमोको महत्व र ऐतिहासिकताको बारेमा उल्लेख गरेको छ । हेर्नुहोस विज्ञप्ति ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास)
केन्द्रीय कार्यसमिति
महालक्ष्मी नगरपालिका–१६ इमाडोल नया“ बस्ती, ललितपुर

किरातचाड ढ्वाङ्कुमोको विज्ञप्ति

ललितपुर । २०७४ साउन २३ गते ।
आदिवासी किरात वाम्बुले राईहरुको सबैभन्दा महत्वपूर्ण ऐतिहासिक मौलिक चाड हो– ढ्वाङ्कुमो । हरेक वर्ष भदौपूर्णिमाका दिन वाम्बुले राईहरुले यो चाड मनाउ“दछन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले परम्परागत चाड ढ्वाङ्कुमो चाडको अवसरमा राजधानीको इमाडोलमा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, किरात राई यायोक्खाका अध्यक्ष तिलक राई र वाम्रासका अध्यक्ष तथा पत्रकार गजुरधन राईले २०७३ सालको एसईईमा उत्तीर्ण विद्यार्थीलाई कदरपत्र प्रदान गरेका थिए । त्यसैगरी वाम्बुले महिला तथा पुरुषले लोकसंस्कृति संगीना नाच र गान प्रस्तुत गरेका थिए । वाम्बुले युवाले बा“सुरी बजाएर प्रदर्शनी गरेका थिए ।
प्रदेश नं.१ ओखलढुंगाको उ“बुगाउ“ ढ्वाङ्कुमटारमा ढ्वाङ्कुम पूजा हुने मुख्य ठाउ“ देवस्थल रहेको छ । सबैतिरका वाम्बुलेजनहर भेला भएर कुलदेउता लिब्जु बाजेको पूजाआजा गर्दछन् । चार किसिमका कलुपूजारी जसलार्य ढ्वाङ्कुर्मो नाक्सो, सिसि नाक्सो, काउर्मो नाक्सा, बुलु नाक्सोको विशेष भूमिका रहन्छ ।
त्यसैगरी खोटाङको झाप्पागाउ“, उदयपुरको कटारी बजार, सुनसरीको पानमारा लगायत जिल्लाका वाम्बुले राई बस्तीहरुमा एकै दिन ढ्वाङ्कुमो चाड मनाउने गरिन्छ । यो ‘ढ्वाङ्कुम’ पनि भनिने यो चाड सांस्कृतिक प्रथाजन्य कानुनमा आधारित चाड हो । किंवदन्तीअनुसार परापूर्व कालमा किरात वाम्बुले पुर्खाहरुले मालेगोरुको बलि चढाएर पूजा गर्दथे । राज्यले शासनसत्ता हिन्दु अधिराज्य बनाएपछि गोरुकाटेर बलि दिने प्रथाको अन्त्य भएको भन्ने बुढापाकाहरु बताउ“छन् । त्यसैले गर्दा मुन्धुम फलाक्दाखेरी ‘मालेगोरुको जुरा चढाउदै आएका थियौं । देशमा राजाकाजीहरुले प्रतिबन्ध लगाएपछि हामीले रा“गाको बलि दिंदैछौं है’ भनेर पुकार्ने गर्दछन् ।
ढ्वाङ्कुम पूजामा कुनै घर छुट्न् हुन्न । सबैतिरको समाज मिलेर मनाउने परम्परा छ । प्रत्येक घरबाट ढ्वाङ्कुमको निम्ति टोलुम÷थुम्से, काउनीको जा“ड (जा ङासि, साम्बल), मासु लगायतका पूजाकार्यका सामग्री लिएर भेला हुने गर्दछन् । यदि कोही कुनै घर छुटेमा वा छुटाएमा के कति कारणले उपस्थित भएन भनेर खोजिनिधो गर्ने गरिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ । राजधानी काठमाडौं उपत्यकामा २०५८ सालदेखि यो चाड मनाउने परम्परा जारी छ ।
धन्यवाद ।

जीवन हाताचो राई
महासचिव–वाम्रास
सम्पर्क : ९८५१०६९०९९


तस्वीरःगणेष राई

प्रकाशित मिति : २३ श्रावण २०७४, सोमबार  ३ : २८ बजे