तिलोत्तमा (रुपन्देही), २८ साउन । जिल्लाका चार स्थानीय तहमा एकीकृत घुम्ती सेवा कार्यक्रम सञ्चालन गरी नागरिकता वितरण गरिएको छ ।
कञ्चन, ओमसतिया र रोहिणी गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकामा घुम्ती सेवा सञ्चालन गरी नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा इलाका प्रशासन कार्यालय बुटवलले गाउँपालिकाका प्रतिनिधिको सहभागितामा घुम्ती सेवामार्फत नागरिकता उपलब्ध गराएको हो ।
जनतालाई घरदैलामा पुगेर सेवा सुविधा दिने उद्देश्यले एकीकृत घुम्ती सेवाबाट नागरिकता उपलब्ध गराइएको इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले जानकारी गराउनुभयो । उक्त घुम्ती सेवा कार्यक्रमअन्तर्गत शुक्रबार कञ्चन गाउँपालिकामा एक सय १५१ जनालाई नागरिकता वितरण गरिएको छ ।

एकीकृत घुम्ती सेवा कार्यक्रमबाट ओमसतिया गाउँपालिकामा ५५, रोहणी गाउँपालिकामा ३१ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८६ थान नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत विष्णु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले स्थानीय निर्वाचनयता उमेर पुगेका, विदेश गएका कारण छुटेका, मतदाता परिचयपत्रमा नाम लेखाउन, वैदेशिक रोजगारी राहदानी बनाउने सवारी चालक अनुमतिपत्र बनाउन र अन्य विभिन्न कारणले नागरिकता नपाएकालाई प्रक्रिया पु¥याएर नागरिकता उपलब्ध गराइएको बताउनुभयो ।
घुम्ती सेवाबाट सहज रुपमा सर्वसाधारणले नागरिकता प्रमाणपत्र पाएको बताउँदै कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले जनता लाई सहजरुपमा सेवा सुविधा दिन नागरिकता वितरणदेखि स्वास्थ्य सेवा, अपांगतालाई परिचयपत्र वितरण, वृद्धवृद्धाका लागि टोल टोलमा सेवा उपलब्ध गराउने गरी काम गरिएको जानकारी दिनुभयो ।







