पुस्तकालय छन् पाठक शुन्य

0 Shares

पाँचथर, २२ भदौ । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ ।

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै बन्न थालेको हो ।

व्यवस्थापक मङ्गल बेघाका अनुसार पाँचथर सामुदायिक पुस्तकालयमा नेपाली, अङ्ग्रेजी भाषा साहित्यसँगै इतिहास, धर्म, संस्कृति र व्याकरणसँग सम्बन्धित नयाँ–पुराना गरी चार हजारभन्दा बढीै पुस्तक छन् । तीनतले भवनमा रहेको यो पुस्तकालयमा पुस्तकसँगै गीत, सङ्गीत र अन्य विधामा रमाउने पाठक स्रोता र दर्शकको रुचिलाई ध्यान दिँदै श्रव्य, दृश्य र साङ्गीतिक उपकरण पनि राखिएको छ ।

पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र युट्युबमार्फत नयाँ–पुराना पुस्तक पढ्न र सुन्न पाइने भएकाले पनि पुस्तकका पाठक घटेको बेघाको भनाइ छ । सदरमुकाम फिदिममा यो सँगै विभिन्न सङ्घसंस्था र स्कुल÷क्याम्पसले पनि पुस्तकालय खोलेका छन् । स्कुल र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्नेबाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने व्यक्तिको सङ्ख्या पनि शून्यजस्तै छ ।

पाँचथर सामुदायिक पुस्तकालयकी कर्मचारी सङ्गीता देवानले दैनिक २ देखि ५ बजेसम्म खुल्ने यो पुस्तकालयमा कहिलेकाहीँ १०–१२ जना र धेरैजसो शून्य सङ्ख्यामा पाठक आउने गरेको अनुभव सुनाए । सदरमुकामबाहेक जिल्लाका याङनाम, यासोक, रानीटार, आङसराङलगायत स्थानमा सञ्चालित पुस्तकालयको पनि हालत यस्तै छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार