इलाम, ६ भदौ । लघुउद्यम विकास कार्यक्रममार्फत जिल्लामा पाँच वर्षको अवधिमा ८७० उद्यमी तयार भएका छन् ।
प्रतिव्यक्ति रु २५ हजार खर्च गरेर लक्षित समुदायका व्यक्तिलाई उद्यमी बनाइएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।
वार्षिक रु २८ हजारभन्दा कम आम्दानी भएकाको जीवनस्तर उकास्न लघुउद्यम विकास कार्यक्रम थालिएको हो । न्यून आम्दानी भएका नागरिकलाई सीप सिकाएपछि उनीहरुले विभिन्न किसिमको उद्यम गरेर आम्दानी बढाएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नवीन पौडेलले जानकारी दिनुभयो ।

लघुउद्यम विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७३÷७४ मा रु ३३ लाख ३२ हजार खर्च गरी १३० जनालाई उद्यमी बनाइएको थियो । आव २०६८÷६९ देखि जिल्लामा लघुउद्यम विकास कार्यक्रम सञ्चालन भइरहेको छ । त्यस अवधिमा कार्यक्रममा रु एक करोड ५० लाखभन्दा बढी खर्च भएको पौडेलले बताउनुभयो ।
लघुउद्यम विकास कार्यक्रममार्फत डेरी, पुष्प व्यवसाय, ब्यूटीपार्लर, मोबाइल मर्मत, सिलाइकटाइलगायत तालिम दिइएको थियो । तालिमपश्चात लघु उद्यमीलाई औजार उपकरणसमेत प्रदान गरिएको थियो । स्थानीय स्रोत र साधनमा आधारित रहेर उद्योग सञ्चालन गरेका लघु उद्यमीले उद्योगबाट मनग्य आम्दानी गरिरहेको कार्यालयले जनाएको छ । रु पाँच लाखसम्म पूँजी भएको लघु उद्योगको दर्ता निःशुल्क भएपछि त्यसको फाइदा लघुउद्यमीलाई भइरहेको छ ।
गत आवमा साना तथा मझौला गरी जिल्लाम २२१ उद्योग दर्ता भएका थिए । हालसम्म जिल्लामा तीन हजार ६५ उद्योग दर्ता भइसकेका छन् ।
माइजोगमाईको बजेट रु २४ करोड ५१ लाख
माइजोगमाई गाउँपालिकाको प्रथम गाउँसभाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि रु २४ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको अध्यक्षतामा सम्पन्न बैठकले चालु खर्चतर्फ रु ११ करोड ७८ लाख ६७ हजार तथा पूँजीगततर्फ रु १२ करोड ७२ लाख ८० हजार विनियोजन गरेको छ ।
सो गाउँपालिकाको कुल जनसंख्या २१ हजार ४४ रहेको छ । नयाँबजार, जोगमाई, सोयाङ, नामसालिङ र प्याङ गरी साविकका पाँचवटा साविकका गाविस मिलेर माईजोगमाई गाउँपालिका बनेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले आव २०७४÷७५ को नीति तथा कार्यक्रम, बजेट सार्वजनिक गर्नुभयो । साथै आर्थिक ऐन, आचारसंहिता, विनियम ऐनसमेत सर्वसम्मत रूपमा पारित गरिएको छ ।







