१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

फर्निचर प्रदर्शनी ३५ हजारद्वारा अवलोकन


८ भाद्र २०७४, बिहिबार  

7
Shares

 

काठमाडौँ, ८ भदौ । नेपाल फर्निचर तथा फर्निसिङ संघले स्वदेशी फर्निचर उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले यही भदौ ३ देखि ७ गतेसम्म आयोजना गरेको फर्निचर तथा फर्निसिङ प्रदर्शनीमा ३५ हजार दर्शकले बुधबार अवलोकन गर्दै सम्पन्न भएको छ ।

दैनिक जीवनमा उपभोग हुने काठ तथा काष्ठजन्य विभिन्न सामग्रीबाट बनेका आकर्षक दराज, टेबल, कुर्सी, पलङलगायत फर्निचर प्रदर्शनीमा राखिएको थियो । स्वदेशी व्यवसायीका ४७ ठूला उद्योगका कक्ष तथा १९ साना कक्ष राखिएको प्रदर्शनीमा दर्शक तथा उपभोक्ताले आफूलाई चाहिने सामग्री बुकिङ गरेका थिए । प्रदर्शनीबाट वस्तु बिक्री नगरिकन सम्बन्धित व्यवसायीले आफ्नो सोरुमबाट सामान उपलब्ध गराउने व्यवस्था मिलाइको थियो ।

विगत पाँच वर्षदेखि वर्षमा एक पटक फर्निचर प्रदर्शनी गरिँदै आएको छ । यसपटक चीन, भियतनाम र इटालीका वस्तु आयात गरी प्रदर्शनीमा राखिएको थियो ।

संघका अध्यक्ष राजेश अग्रवालले देशका विभिन्न स्थानमा भएका व्यवसायीका अनुभवलाई आदानप्रदान गर्न तथा नयाँ सामग्रीप्रति उपभोक्ताको चाहनालाई नजिकबाट बुझ्न प्रदर्शनी उपलब्धिमूलक भएको बताउनुभयो ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाले मुलुकमा वन संरक्षण तथा काठ उत्पादनको प्रष्ट नीतिको खाँचो औँल्याउँदै फर्निचरका क्षेत्रमा पर्याप्त सम्भावना रहेकाले मुलुकलाई आवश्यक पर्ने फर्निचर स्वदेशमा उत्पादन गर्न वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ उपत्यकामा मात्र बर्सेनि करिब रु चार अर्बको फर्निचर कारोबार हुने बताइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार  ५ : २७ बजे