२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

दण्ड र पुरस्कारको नीति कार्यान्वयन नहँुदा परियोजनामा ढिलाइ


११ भाद्र २०७४, आइतबार  

14
Shares

 

पर्सा, ११ भदौ । शहरी विकासमन्त्री प्रभु साहले दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयनमा नल्याएका कारण सरकारी परियोजना समयमा पूरा हुन नसकेको बताउनुभएको छ ।

 

शहरी विकास मन्त्रालयले आज वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले गुणस्तरीय र समयमा परियोजनाको काम पूरा गर्ने ठेकेदार वा परियोजनासँग जोडिएका सरकारी कर्मचारीलाई पुरस्कृत गर्ने र समयमा काम पूरा नगर्नेलाई छानबिन गरी दण्डित गर्ने परिपाटीको विकासमा मन्त्रालय लागेको जानकारी दिनुभयो ।

उहाँले ठेक्का सकार गर्ने र वर्षाँैसम्म काम पूरा नगरी लट्काइराख्ने परिपाटीको अन्त्यका लागि अब सरकार कठोर कदम चाल्ने तयारीमा रहेको बताउँदै उहाँले अब रुग्ण परियोजनाको छानबिन गरी ठेकेदार अथवा सरकारी कर्मचारी जो दोषी देखिन्छन्, तिनलाई कारबाही हुन्छ भन्नुभयो ।

प्रत्येक जिल्लामा सञ्चालित सरकारी परियोजनाबारे सर्वसाधारणलाई जानकारी गराउन कार्यालय प्रमुखलाई मन्त्री साहले निर्देशन दिनुभयो ।

सरकारद्वारा सञ्चालित जनता आवास कार्यक्रममा अनुदान रकमलाई रु दुई लाख ३६ हजारबाट बढाएर रु तीन लाख ५० हजार पु¥याइएको मन्त्री साहले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा लाभग्राहीको रकम हिनामिना भएका गुनासा आएपछि सरकारले अनुदान रकम सोझै लाभग्राहीको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

मन्त्री साहले बारा, पर्सा र रौतहट जिल्लामा सञ्चालित परियोजना रुग्ण अवस्थामा रहेको तथ्यांकले देखाएको र यसैको कारण पत्ता लगाउन मन्त्रालयको टोलीसहित स्थलगत अनुगमनमा आएको बताउनुभयो ।

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ११ : ५२ बजे