राजविराज । दुई साताअगाडि आएको बाढी र पहिरोबाट प्रभावित गाउँघरमा विषालु सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक बाढीबाट अतिप्रभावित जिल्लाको लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, हनुमाननगर, इनर्वा, मैनाकडेरी, पोर्ताहा, तिरकोल लगायत गाउँमा विषालु सर्प बढेको हो ।
दुई दिनअगाडि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाकी गर्भवती महिला लुदियादेवी सदालाई विषालु सर्पले टोकेको थियो । सर्पले टोक्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा अहिले उपचार भइरहेको पीडितका परिवारले बताएका छन् ।
यस्तै, बाढी प्रभावित क्षेत्रमा झाडापखाला, निमोनिया, टाइफाइड, रुघाखोकीका साथै बालबालिका र वृद्धवृद्धामा समेत रोगको प्रकोप देखापरेको छ । यसअघि विषालु सर्पको टोकाइबाट सप्तरीको सकरपुरामा एक बाढीपीडित किशोरीको मृत्यु भएको थियो ।
जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेका गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
एक्कासि सर्पको बिगबिगी बढेपछि सो क्षेत्रका सर्वसाधारण त्रसित भई सर्पको टोकाइबाट जोगिन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बाढीपीडितको गुनासो छ । सर्पदंशको डरले बाहिरसमेत निस्कन समस्या हुने गरेको पीडितले बताएका छन् ।
१६ भाद्र २०७४, शुक्रबार
35
Shares







