७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

गुरुयोजना तयार गरी विकास निर्माण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड


२३ भाद्र २०७४, शुक्रबार  

0
Shares

चितवन, २३ भदौ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना तयार गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताएको छ ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको एकीकृत सहरी विकास कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै प्रचण्डले राजधानी काठमाडौँमा झैँ संरचना बनाउने र भत्काउने नगरी एकसय वर्षभन्दा पछिसम्मको सोच राखेर गुरुयोजना तयार गरी विकास निर्माण गर्नुपर्ने बताए ।

संघीयता र संघको निर्वाचनसँगै संविधान पूर्णरुपमा कार्यान्वयन हुने भन्दै उहाँले अवको समय आर्थिक समृद्धिको भएको बताए ।

दीर्घकालीन रणनीतिका साथ अघि बढ्न नसके राष्ट्रनिर्माण गर्न नसकिने भन्दै उहाँले राजनीतिक प्रतिशोधलाई थाँती राखेर विकास निर्माणमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो राजनीतिक आँखा अब विकासमा केन्द्रित हुनुपर्दछ ।

कार्यक्रममा भरतपुर महानगरपालिकालाई बहुआयामिक नगरको रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले तथ्यांक गत रुपमा गुरुयोजना निर्माण गर्न सुझाव दिनुभयो ।

विश्वका महत्वपूर्ण देशका प्रमुख महानगरसँग भगिनी सम्बन्धको विकास गरी महानगरलाई एकीकृत विकास गर्नुपर्ने पनि उहाँको जोड थियो ।

भरतपुर महानगरपालिकालाई चितवन महानगरको रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले भरतपुर महानगरमा क्षेत्रीय विमानस्थल, शिक्षा र स्वास्थ्य केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । महानगरबाट नवलपरासी जोड्ने पुल निर्माण गर्ने र राप्ती एवं नारायणी दुई नदीको किनारै किनार चक्रपथ बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा सहरी विकास मन्त्री प्रभू शाहले भरतपुर महानगरलाई नमुना सहर बनाउनका लागि मन्त्रालयले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “स्मार्ट सिटी बनाउन डिपिआरका लागि ठेक्का भइसकेको छ ।”

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भरतपुर महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न अध्ययनका लागि बजेटसमेत निकासा भइसकेको बताए।

कार्यक्रममा चितवन क्षेत्र नं–३ का सांसद कृष्णभक्त पोख्रेल, सांसद सन्तु दराईलगायतले भरतपुर महानगरको विकास गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने बताए ।

हालै मात्र भरतपुर महानगरमा ९माओवादी केन्द्र०का अध्यक्ष दाहाल पुत्री रेणु दाहाल प्रमुख पदमा विजयी भएको छ । महानगर नै भएको चितवनबाट आउँदो संघको चुनावमा उम्मेदवार बन्ने घोषणा समेत प्रचण्डले गरिसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ११ : २३ बजे