३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

८ दिनपछि मृतावस्थामा फेला



तनहुँ, २७ भदौ । गत भदौ १९ गते सोमबारदेखि हराएका भनिएका व्यास नगरपालिका वडा नं ३ स्थित रुचन खाजाघर सञ्चालक चन्द्रकुमार कायस्थका जेठा छोरा कृष्ण कायस्थ सोमबार साँझ मृतावस्थामा भेटिएको छ । देवघाट गाउँपालिका वडा नं ५ स्थित त्रिशूली नदी मिसिएको स्थान नजिकै बगाई भन्ने स्थानमा नदीमा तैरिरहेको अवस्थामा कायस्थ मृतावस्थामा भेटिएको हो ।
कायस्थसँगै पौडी खेल्न गएका चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । सँगै पौडी खेल्न गएको अवस्थामा घरपरिवारमा कुनै पनि जानकारी नगराएको र छोराको मोबाइल साथमै राख्नुजस्ता कारणले पनि कर्तव्य गरेको भन्दै पीडित पक्षले प्रहरीमा ठाडो उजुरी जाहेरी गरेका थिए ।
स्थानीयवासी, आफन्त र नेपाल प्रहरीसहितको टोलीले खोज्दै जाँदा उक्त स्थानमा शव फेला परेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए । शरीरको अवस्था चिनिनेखालको नभए पनि हातमा लगाएको सिक्रीबाट आफन्तले पहिचान गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइने बताइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलबार  ३ : ४९ बजे