उत्कृष्ट कर्मचारी सम्मानित

0 Shares

भोजपुर, २३ भदौ । जिल्ला न्यायाधीश प्रकाश श्रेष्ठले निजामती कर्मचारी सेवा प्रवाहमा दत्तचित भएर लाग्नुपर्ने बताएका छन् ।

निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले राज्य र नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्नसके मात्र सेवाग्राहीले सुशासनको अनुभूति गर्नसक्ने उल्लेख गरे ।

‘सेवामैत्री प्रशासन सङ्घीयतामा सुशासन’ भन्ने मूलनाराका साथ भएको कार्यक्रमकै अवसरमा जिल्ला शिक्षा कार्यालय भोजपुरका जिल्ला शिक्षा अधिकारी सीताराम श्रेष्ठ र कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीसहित उत्कृष्ट ६ जना कर्मचारीलाई सम्मानित गरियो ।

निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा १३ जना सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई पनि कदरपत्रले सम्मान गरिएको छ ।

त्यस्तै, कार्यक्रममा कर्मचारी मिलन केन्द्रले सामुदायिक विद्यालयमध्येबाट २०७२ सालको एसएलसीमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रतर्फ सन्त सावित्री मावि नेपालेडाँडाका प्रज्वल बस्नेत र छात्रातर्फ वीरेन्द्र उच्च मावि कुलुङकी सुलोचना बोगटीलाई नगद र कदरपत्रले सम्मान गरेको हो ।

सदरमुकामको स्थानीय टुँडिखेलमा निजामती सेवा दिवसकै अवसरमा आयोजित विभिन्न कार्यक्रमका विजेतालाई पुरस्कार पनि वितरण गरिएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार