चौतारा, २८ भदौ । राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा मुलुकका अति प्रभावित १४ जिल्लाकै प्रतिनिधित्व हुने गरी १४ खम्बा राखी उद्यान निर्माण गर्न लागिएको हो ।
‘ए नट’ आर्किटेक डिजाइन एशोसियसनले ३५ लाखमा तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकले मंगलबार चौतारामा सार्वजनिक गरेको थियो । सदरमुकाम चौताराबाट करिब तीन किमी उत्तर पश्चिमको दाह्रे गौँडा डाँडामा निर्माण गरिने उक्त उद्यान वरिपरि बार लगाउने काम भइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तीन करोड २५ लाखमा सडक, बत्तीलगायत काम अगाडि बढाइएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ५ र ६ मा पर्ने भगवती सामुदायिक वन क्षेत्रको ८२ रोपनी १२ आना जग्गामा उद्यान निर्माण गरिने छ । उद्यानमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा विशाल प्रतिमा हुनेछ र त्यसमाथि कमलको फूल हुनेछ । उद्यानमा निर्माण हुने एउटा कक्षमा प्रवेश गर्दा भूकम्पको अनुभव हुने कोठासमेत रहने छ ।
भूकम्पसम्बन्धी अनुसन्धान गर्न सकिने बैठक कक्ष, पुस्तकालय, सूचना केन्द्र, विगतदेखि हालसम्म गएको भूकम्पको जानकारी लिन सकिने संग्रहालय र दुईतले दृश्यावलोकन स्तम्भ निर्माण गरिने छ । उद्यानभित्र मृतकको नामांकित शिलास्तम्भ र पार्किङलगायत व्यवस्था गरिने शहरी विकास तथा भवन डिभिजन कार्यालय जिल्ला समन्वय समितिका प्रमुख डा. युवराज पौडेलले जानकारी दिए । सो उद्यान निर्माणमा झण्डै एक अर्ब बजेट लाग्ने छ । आगामी मंसिरसम्म डिपिआर तयार हुने बताइएको छ ।







