१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

३२ वर्षपछि लोपोन्मुख घडियाल गोहीको प्रजनन सफल



बर्दिया, ३० भदौ । तीन दशकको प्रयासपछि विश्वमै लोपोन्मुख घडियाल गोहीले बर्दियामा बच्चा कोरल्न थालेको छ । विगतमा पटक–पटक बच्चा हुर्काउने प्रयास असफल भए पनि ३२ वर्षपछि भने गत वर्षबाट प्रजनन सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।
गएको वर्ष गोहीले २४ वटा बच्चा कोरलेको थियो । यो वर्ष भने १४ वटा बच्चा कोरलेको थापा बताले बताए । उनका अनुसार बर्दियामा अहिले ३८ बच्चासहित वयस्क र अर्ध वयस्क १२ वटा गरी ५० गोही छन् । शुरुमा गोहीको जनचेतना जगाउन भन्दै शुरु भएको गोही पालन अहिले बर्दियामा प्रजनन केन्द्रकै रुपमा विकास भएकोमा संरक्षणकर्मीहरु खुशी छन् ।
चितवनको कसरामा नेपालकै एकमात्र गोही प्रजनन केन्द्र रहेकामा अब बर्दियामा पनि प्रजनन केन्द्र बनेसँगै संरक्षणमा महत्वपूर्ण उपलब्धि भएको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख तथा चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताए । घडियाल गोही गैँडाभन्दा पनि दुर्लभ हुँदै गएको छ । प्राकृतिक वासस्थानमा यसको मृत्युदर ९९ प्रतिशत छ । नेपालमा पाइने अर्काे मगर गोहीको संख्या भने केही राम्रै रहेको पाइएको छ ।
बर्दियामा २०४० सालमा गोहीको जनचेतना जगाउन भन्दै चितवनबाट शुरुमा चार र पटक–पटक गरेर १२ वटा घडियाल ल्याइएको थियो । दश वर्षसम्म नदीबाट गोहीको अण्डा ल्याउँदै कोरल्ने प्रयास असफल भएको थियो तर गएको वर्ष गोहीले आफैँ अण्डा पारेर बच्चा निकालेको हो ।
त्यही गोहीको सन्तान गरेर अहिले ५० पुगेको छ । गतवर्षबाट कोरलेका बच्चासमेत हुर्कन थालेका छन् । चितवनमा २०३५ सालमा प्रजनन केन्द्र स्थापना गरिएको थियो । विसं २०५० पछि यहाँ बच्चा कोरलिएको थियो । चितवनमा बच्चा कोरल्न झण्डै दुई दशक लागे पनि बर्दियामा तीन दशकपछि मात्रै कोरलेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार  ८ : ३३ बजे