२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

भुटानी शरणार्थीको माग अन्तराष्ट्रियकरण गर्न आग्रह



दमक, ३१ भदौ । भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् । अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लाग्नुभएका प्रधानमन्त्री देउवालाई भुटानीको संस्थाले अपिल पठाउँदै त्यस्तो माग दोहो¥याएका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको ७२ औँ महासभा बैठकमा नेपालमा शरणागत जीवन बिताइरहेका भुटानीको समस्यालाई गम्भीर ढंगले उठाइदिन आग्रह गरिएको बताए ।
विज्ञप्तिमा भनिएको छ, “झापा र मोरङका दुई वटा शिविरमा आश्रित भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको मुद्दा सशक्त बनाउन पनि अब यो मुद्दालाई राष्ट्र संघमा उठाइदिन जरुरी छ ।” लामो समयदेखि भुटानी शरणार्थीको स्वदेश फिर्तीको कुरा ओझेलमा परेको स्मरण गराउँदै संस्थाले महासभाको बैठकले सो मागलाई मुख्य कार्यसूचीका रुपमा उठाइदिन प्रधानमन्त्री देउवासँग माग गरेको प्रवक्ता घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । उनले भने, “भुटान सरकारलाई दबाब दिनका लागि महासभाको बैठक अत्यन्त अनुकूल छ, यसबाट शरणार्थी आशावादी रहेका छन् । हामीले वर्षौंदेखि स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै आएका छौँ, हाम्रो समस्या महासभामा उठाइए अन्तराष्ट्रिय मुद्दा बन्ने छ ।”

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार  ४ : ३२ बजे