६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

यातायात सञ्चालनमा राज्यमन्त्रीको निर्देशन


१ आश्विन २०७४, आइतबार  

0
Shares

संखुवासभा, १ असोज, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिएको छ ।

शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । “ठेकेदारको लापरवाहीका कारण समयमा सडक निर्माणको काम शुरु हुनसकेको छैन भन्ने व्यापक जनगुनासो आएको छ, चाँडो डोजर ल्याएर बाटो निर्माण गर्नुहोस्,”, राज्यमन्त्री गुरुङले भन्नुभयो ।

पटक पटक कालोपत्रे गर्ने नाममा ठूलो बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरेको जनगुनासो आएपछि राज्यमन्त्री गुरुङ कोसी राजमार्गको प्रवेशमार्ग टुटे देउरालीदेखि मुढे–मामलिङ र लेगुवा– तुम्लिङटार सडक खण्डको अनुगमनमा आउनुभएको हो ।

सोही अवसरमा सांसद दीपक खड्काले आफूले निर्वाचन क्षेत्र विकास कोषमार्फत वर्षेनी धेरै पैसा विनियोजन गरे पनि समयमा निर्माण सम्पन्न नभएको गुनासो पोख्नुभयो ।

पूर्व राज्यमन्त्री खड्काले जिल्ला सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई घच्घच्याउने काम नगरेकाले निर्माण ढिलो भएको बताए । दशैँ अगाडिसम्म सडक मर्मत कार्य सम्पन्न नभए निर्माण कम्पनी र त्यसमा काम गर्ने कर्मचारीलाई कारबाही हुन्छ, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  ७ : ४५ बजे