काठमाडौं । शेर्पा भाषाको चलचित्र टिन्छेन फमाको यहि असोज २६ गते गोपिकृष्ण हल काठमाडौंमा प्रदर्शन गरिने भएको छ । निमार्ण कार्य सकिएपछि शनिबार गरिएको पत्रकार सम्मेलनमा चलचित्र प्रर्दशनको मिति सार्वजनिक गरिएको हो ।
शेर्पा म्यूजिक वल्र्ड प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र टिन्छेन फमाको लेखन तथा निर्देशन आङङिमा शेर्पा कुङगाले गरेकी हुन । चलचित्रमा शेर्पा भाषा, संस्कृति जोगाउन अभिभावकको भूमिका कस्तो हुन्छ भन्ने विषयलाई समेटेर निर्माण भएको निर्देशक शेर्पाले जानकारी गराइन् ।

प्रमुख अतिथि एवं आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले देशको मौलिक पहिचान जोगाउने प्रमुख माध्यम भनेको आदिबासी चलचित्रनै रहेको दाबी गर्दै शेर्पा समुदायको भाषा संस्कृती प्रबद्र्घन गर्न चलचित्र टिन्छेन फमाले महत्वपुर्ण भूमिका निवार्ह गर्ने बताए । चलचित्र बोर्डका अधिकृत आनन्द घिमिरे, नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बरिष्ठ गायक लाक्पा शेर्पाले शुभकामना मन्तव्य राखेका थिए ।
चलचित्रमा कुङगा शेर्पा, छोङवा शेर्पा, सोनाम याङजी शेर्पा, छिरिङ् डोल्मा शेर्पा लगाएत कलाकारको मुख्य भुमिका रहेको छ । तेन्जिङ् शेर्पा, कुङगा शेर्पा, छोङवा शेर्पा, आङ ङिमा शेर्पा कुङगा चलचित्रका निर्माता रहेका छन् । चलचित्रमा अभिनय गरेका कलाकार तथा निर्मातालाई आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष सुनुवार मार्फत प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । टिन्छेन फमा यही असोज २६ गते नेपालको गोपिकृष्ण हल हुदैं देश तथा विदेशमा प्रदर्शन गरिने निर्देशक कुङगा ङिमा शेर्पाले बताए । कार्यक्रममा चलचित्रको पोष्टर समेत सार्वजनिक गरिएको थियो ।
१ आश्विन २०७४, आइतबार
0
Shares







