भक्तपुर, १ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै जातजाति, भाषाभाषी भएको मुलुकमा सबै समुदायलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भावको निम्ति काम गर्ने पार्टी भएकाले जनतको विश्वास जित्दै गएको बताउँदै अध्यक्ष ओलीले देशमा सामाजिक सद्भावलाई कायम राखेर विकास र समृद्धिको बाटोमा सबै जुट्नुपर्ने बताएका छन् ।
कार्यक्रममा पूर्वउद्योग मन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले एमाले आगामी निर्वाचनमा पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्दै तराई मधेश, पहाडलाई एकताबद्ध बनाएर एमाले अगाडि बढ्ने बताए ।








