१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

राष्ट्रपतिद्वारा निर्वाचनमा सहभागी हुन आग्रह



काठमाडौँ, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपाली जनताको लामो संघर्षको फलस्वरुप संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमय रुपमा सफल बनाउन आह्वान गरेका हुन् ।

नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको शृङ्खलाका रुपमा व्यापक जनसहभागितासहित विसं २०७४ वैशाख ३१ गते पहिलो चरणको निर्वाचन र २०७४ असार १४ गते दोस्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको सर्वविदितै छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ ।
साथै यस निर्वाचनले गाउँ तथा नगरमा नेतृत्व स्थापित गर्दै स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याइ सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्नेछ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७४, सोमबार  ५ : २० बजे