दार्चुला, ३ असोज । महाकाली नदी किनारमा तटबन्ध अन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिए । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको छ ।
यस्तै, प्याकेज नं ७, ८, १० र ११ मा चालु आ.व. २०७४÷७५ भित्र तटबन्ध निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको देवकोटाले बताए । चालु आ.व.मा तीनवटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । कोर क्षेत्रको १३ नं प्याकेज तथा अन्य क्षेत्रको १४ र १५ नं प्याकेजको काम तिहार लगत्तै सञ्चालन हुने देवकोटाको भनाइ छ ।

“गत आवमा गिट्टी अभावका कारण तटबन्ध निर्माणको काम प्रभावित बन्यो,” देवकोटाले भने । आयोजनाले चालु आ.व.मा ४० करोड खर्च गर्ने लक्ष्य लिएको छ । चालु आ.व.का लागि २८ करोड ५० लाख बजेट विनियोजन भएकामा १२ करोड थप खर्च गर्ने योजना रहेको देवकोटाले बताए । वर्षेनी जिल्लाबाट अन्य विकासे कार्यालयको बजेट काम गर्न नसकी फिर्ता हुने गरेकामा महाकाली नदी नियन्त्रण आयोजनाले भने थप बजेट माग गरी खर्च गर्ने गरेको छ ।
४ आश्विन २०७४, बुधबार
21
Shares







