चेपाङ समुदायले न्वागी पर्व मनाए

7 Shares

धादिङ, २३ भदौ । अति सीमान्तकृत चेपाङ समुदायले न्वागी पर्व मनाएर यस वर्षको फलेको अन्न खान सुरु गरेका छन् ।
चेपाङको मुख्य पर्वका रुपमा हरेक वर्ष न्वागी अर्थात् छोनाम पर्व मनाइन्छ । आफ्नो खेतबारीमा उब्जेको अन्नबालीले जिल्लाको महाभारत क्षेत्रमा बसोबास गर्ने चेपाङलाई मुस्किलले तीन महिना खान पुग्छ । अन्य समय ज्यालामजदुरीबाट आएको आम्दानीले खानुपर्छ ।
घरमा मकै भित्रिएको खुसियालीमा मनाइने यस पर्वलाई उनीहरु आफ्नो भाषामा ‘पान्देई घ्यासा’ मनाउँछन् । पर्वका अवसरमा ढ्याङ्ग्रो बजाउने र टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । अहिले उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरि खान पुगोस् भनेर कामना गर्ने र आपसमा खुसियाली साटासाट गरेर यो पर्व मनाइने नेपाल चेपाङ सङ्घका पूर्व केन्द्रीय सचिव तिलक चेपाङले बताए । उनका अनुसार दाजुभाइ, इष्टमित्र भेला भएर आफ्नै बाजाको तालमा झुम्मिएर रमाइलो गरी यो चाड मनाइन्छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार