२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक



 

लहान, ७ असोज  । सिरहाको १७ स्थानीय तहमध्ये आज विहान सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र) ले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार/चार तथा नेपाली काँग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

पछिल्लो पटक आज बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।

सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा(यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित भएका छन् ।

उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार श्यामकुमार श्रेष्ठले ५ हजार ८९ मत प्राप्त गरे, भने नेकपा एमालेकै उपप्रमुख पदका उम्मेदवार सुनितादेवी सिंहले ४ हजार ९ सय २५ मत प्राप्त गरेका छन् ।

यस्तै सिरहाको लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३ सय ७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १ सय ६८ मतसहित उपप्रमुखमा विजयी भएका छन् ।

उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अचमितलाल चौधरीले ९ हजार १ सय ३१ मत प्राप्त गरे । भने काँग्रेसकै उपप्रमुख पदकी उम्मेदवार पुनम चौधरीले ९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

त्यस्तै सिरहाको बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ । फोरमका सन्तोषकुमार महतोले ३ हजार ९ सय ७९ मतसहित प्रमुखमा विजयी भएका हुन्, भने फोरम नेपालकै रेखाकुमारी यादव  ३ हजार ७ सय ६३ मतसहित उपाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा काँग्रेसका बालेश्वर यादवले  २ हजार ८ सय ८१ र उपाध्यक्षमा काँग्रेसकै कुमारी यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन् ।

त्यस्तै सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह ४ हजार ४ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा फोरमकै आशादेवी यादव ३ हजार ६ सय ४६ मतसहित विजयी भएका छन् ।

उनीहरुको निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार चतुरानन्द ठाकुरले ३ हजार २ सय ४५ र उपाध्यक्षमा काँग्रेसकै अमरकला यादवले ३ हजार ३ सय ७१ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार  १ : ३० बजे