२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

महाशीला चक्रपथ निर्माण यसै वर्ष पूरा गर्ने तयारी



 

फलेवास, पर्वत, ८ असोज । पर्वत जिल्लाको महाशीला गाउँपालिकामा चक्रपथ निर्माण कार्य शुरु भएको छ ।

महाशीला गाउँपालिकाका सबै वडामा बाह्रैमास यातायातको सुविधा पु¥याउने उद्देश्यले चक्रपथ निर्माण शुरु गरिएको हो ।

गाउँपालिकाअन्तर्गतका साविकका छवटै गाविसलाई जोड्ने गरी चक्रपथ निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष नै उक्त चक्रपथ निर्माण कार्य पूरा गर्ने लक्ष्य छ । सात मिटर चौडाइ हुने उक्त सडकको बाटो खोल्न यस वर्ष रु एक करोड ५० लाख विनियोजन गरिएको छ । महाशीला चक्रपथ फलामखानीको घण्टेबाट शुरु गरेर घन्तरी–लुुंखु–होश्राङदी–अर्घौदी–बालाकोट–नियाल्नी–बान्द्रे–सिम्ले हुँदै पुनः घण्टेमा लगेर जोडिने भएको छ । ग्रामीण क्षेत्रमा रहेको उक्त गाउँपालिकालाई व्यवस्थित गर्न र सडकको पहुँच प्रत्येक बस्ती र टोलसम्म पु¥याउन चक्रपथको अवधारणा अघि सारिएको हो ।

चालू आर्थिक वर्षभित्रमै बाटो खोलिसक्ने र आगामी वर्षदेखि स्तरोन्नति गरी पाँच वर्षभित्रमा कालोपत्रसमेत गर्ने लक्ष्य लिइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उक्त सडकमध्ये केही ठाउँमा पूर्ववत् सडकलाई नै प्रयोग गरिने र सडक नभएका ठाउँमा सर्वसाधारणलाई पहुँच पुग्ने, छोटो हुने गरी नयाँ बाटो खोलिने भएको छ । साविकको सडकलाई समेत चौडा गरेर सात मिटर फराकिलो बनाइने भएको छ ।

उक्त योजना उक्त गाउँपालिकाको सबैभन्दा ठूलो योजना हो । अध्यक्ष पौडेलले भन्नुभयो, “सडकको पहुँच पुगेपछि मात्र अन्य विकास निर्माणले गति लिने भएकाले यसलाई प्राथमिकतामा राखिएको हो ।”

उक्त गाउँपालिकाका सबै वडामा सडकको सुविधा पुगे पनि हिउँदमा मात्र सवारी साधन पुग्ने गरेका छन् । वर्षायाम चार महिना भने स्थानीय सडक सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको छ । गाउँपालिकाको दिगो विकासका लागि टुक्रे योजनामा बजेट विनियोजन नगरी सबै वडाका सबै घरधुरी लाभान्वित हुन् भनेर यो योजना छनोट गरिएको समेत पौडेलको भनाइ छ ।

अन्य स्थानीय तहमा वडा वडामा बजेट विनियोजन गरिएको छ तर, त्यसले समग्र विकासमा परिवर्तन देखिनेगरी काम गर्न सकिँदैन । एउटै योजनाले सबै वडा समेटिने र दिगोपनासमेत हुने भएकाले चक्रपथको योजनाप्रति सबै जनप्रतिनिधिले सहमति जनाएका हुन् ।

वर्षायाममा यातायातको सुविधाबाट वञ्चित हुनुपर्ने गाउँपालिकालाई बाह्रैमास यातायातको पहुँच पु¥याउन चक्रपथको योजना ल्याइएको महाशीला वडा नं ५ का वडाअध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त योजनालाई समयमै सम्पन्न गर्न सबै वडा अध्यक्ष प्रतिबद्ध भएर लाग्ने भएका छन् ।

सदरमुकाम कुश्मा बजारबाट झण्डै ४० किलोमिटर दूरीमा पर्ने महाशीलामा विसं २०५५ मै सडकको सुविधा पुगेको भए पनि कालोपत्र भने हुन सकेको छैन । स्याङ्जाको पञ्चमूल हुँदै महाशीला–५ लुंखुदेउरालीसम्म विसं २०५५ मै सडक सुविधा पुगेपछि अन्य वडामा विस्तार गरिएको थियो । उक्त स्थानबाट अहिले दैनिक तीन दर्जनसम्म सवारी साधन सञ्चालनमा आउँछन् । पोखरा–काठमाडाँै–नारायणगढ–बुटवलसम्म दैनिक बस सेवा सञ्चालन हुने सवारी चालक विनोद क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार  ९ : ५१ बजे