२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

अभिनयमा आउँदै : अनुशा बाहिङ



नेपाल सुपर मोडल कन्टेष्ट सन् २०१६ मा ‘मोस्ट ट्यालेण्ट’ तथा ‘थर्ड रनर अप’ को ताज पहिरिएका अनुशा बाहिङ राईले एक वर्षपछि फेरी ‘मिस एस.ई.ई. आईडल २०१७’ को ताज पहिरिएकी छन् । यत्ति मात्र होइन बाहिङले ‘भ्यिूवर्स च्वाईस र मोस्ट ट्यालेन्टेड’ को उपाधि समेत यसै वर्ष हात पार्न सफल भइन् ।
यी दुवै उपाधि जितिसकेका अनुशा बाहिङ राई अब अभिनय क्षेत्रमा आफ्नो भविष्य खोज्ने सोच बनाएकी छन् । ‘अब म काँचको पर्दामा मेरो भविष्य खोज्दै र भाग्य कोर्दै छु, यसरीनै सबैको साथ, माया र सहयोग पाए अवश्य म सफल हुनेछु’ बाहिङले भने । उनले अहिले अभिनय कलाको कक्षा लिइरहेकी छन् । अभिनय क्षेत्रमा पहिले नाटक खेल्ने उनको चाहना छ । ‘नाटकमा अभिनय गर्दा एकै टेकमा जीवन्ता दिनु पर्छ, तर चलचित्रमा जति सटमा अभिनय ओके गरेपनि हुन्छ’ उनले भने । त्यसैले उनको नाटकमा पहिले अभिनय गर्ने उत्कट इच्छा रहेको छ ।
बाहिङको अभिनय बाहेक मोडलिङ र एयर होस्टेजको तालिम पनि सँगसँगै लिने सोच बनाएकी छन् । सानै उमेरदेखि मोडलिङप्रति रुचि राखेका बाहिङले अनलाईनहरुमा मोडलिङ सम्बन्धी फोटोसुटहरु देखेर उनको यसप्रति आकर्षण बढेको हो । ‘सुपर मोडल कन्टेस्ट २०१६’ मा ‘मोस्ट ट्यालेन्ट’ तथा ‘थर्ड रनर अप’ र ‘मिस एस.ई.ई. आईडल २०१७’ को ताज जितेपछि मैले पनि केहि गर्न सक्छु भन्ने आशा जागेको छ ।’ झनै अब त कलाकारिता क्षेत्रमा केहि गर्नु पर्छ भन्ने कतव्र्य बोध भएको बाहिङले बताए ।
विगतलाई सम्झदै बाहिङले भने ‘सुपर मोडेल कन्टेस्टको अडिसनमा जाँदा मैले जित्ने आशा राखेको थिइन, अनुभव बटुल्न आएको हो भन्ने सोचेको थिए, तर म थर्ड रनर अप भए, मेरो शिरमा क्राउन लगाइदिए त्यक्तिबेला निक्कै खुशि भएको थिए, त्यहि आशा, विश्वास र अनुभवले गर्दा मैले ‘मिस एस.ई.ई. २०१७’ को ताज पहिरिन सफल भए ।’
शुरुमा पढाइसँगै मोडलिङ क्षेत्रमा लागेकाले बाहिङलाई समय मिलाउन धेरै गाह्रो भएको थियो, तर अहिले समस्या नभएको बताए । उनको अभिनय, मोडलिङ र एयरहोस्टेजमा मात्र होइन समाजिक सेवा गर्ने पनि उत्तिकै इच्छा छ । उनी स्काउटको सदस्य भएकाले पनि समाजिक क्षेत्रमा काम गर्न धेरै इच्छा भएको बताए ।
‘मैले अगालेको पेशा र कामप्रति मेरो परिवारको पूर्ण समर्थन छ, मैले रोजेको कामलाई परिवारका सबै सदस्यले कहिल्यै नकार्नु हुन्न, जुन काम गर्दा पनि समर्थन पाइरहेकी छु, तर त्यो काममा आउटपुट देखिने हुनु प¥यो’ बाहिङले भने ।
को हुन अनुशा बाहिङ राई
वि.सं. २०५७ पुस ३ गते नेचासल्यान गाउँपालिका वडा नं. २, रीदु, सोलुखुम्बुमा बुवा ठाकुरचन्द्र बाहिङ राई र आमा ऋतु थुलुङ राईको दोस्रो सन्तानका रुपमा जन्मिएका बाहिङ सानै उमेरदेखि मोडलिङ पेशाप्रति रुचि राख्थे । बाल्यकालको छोटो समय रीदुमै बितेपनि अहिले उनी स्थायी रुपमा कपन, काठमाडौंमा स–परिवार बस्दै आएका छन् ।
सुविधा सम्पन्न शहरको बसाई, अभिभावकले आफ्नो चाहना अनुसार काम गर्न दिने पारिवारिक वातावरणले बाहिङलाई सानै उमेरमा यो सफलता दिलाएको हो । मनमा सँधै सकारात्म सोच राख्नु पर्छ भन्ने मान्यताका साथ उनी अभिनय कलामा सुनौलो भविष्य खोज्दै छिन् । कामप्रति देखाएको लगाव र मेहनतले जुनसुकै क्षेत्रमा पनि सफलता चुम्न त्यत्ति अप्ठ्यारो पर्दैन उनलाई ।
सँधै सकारात्म सोच र कसैलाई नराम्रो व्यवहार नगर्ने उनको सफलताको पहिलो खुट्किलो हो । तर कसैले उनको काम र व्यवहारप्रति थोरै भएपनि असन्तुष्ट जनाए उनी धेरै हतोत्साही हुन्छन् । यो उनका कमजोरी हो । राम्रो काम गर्दा गर्दै पनि कसैले नकारात्मक टिप्पणी गरे त्यसको सहज रुपमा सामना गर्ने आत्माविश्वास बढाए अनुशाले जीवनमा कहिल्यै पछाडि फर्केर हेरिरहनु पर्दैन ।
आमा ऋतुको नजरमा अनुशा
हुने विरुवाको चिल्लो पात भने झै अनुशा सानै उमेरदेखि सन्तोकी थिई । सानो बच्चामा पनि धेरै नरुने । खेलौनाहरु पनि धेरै नचाहिने । एउटै खेलौना धेरै महिनासम्म खेलाई रहन्थ्यो । खानेकुरा पनि यस्तो उस्तो नभनी मज्जाले खाने उसको बानी छ ।
अलि ठूली भएर बुझ्ने भएपछि त झन परिवारमा भएको समस्या पनि बुझ्न थाल्यो । आवश्यकता भन्दा बढि खर्च गर्नु हुँदैन । उसलाई मनपर्ने कुनै सामान किनमेल गर्दा पनि सबैभन्दा सस्तो मूल्यको सामान रोज्ने गर्छ । अहिले त झन परिवारको एक जिम्मेवार सदस्य जस्तै भएको छ । ऊ एकछिन पनि फुर्सदमा बस्न सक्दैन् । उसलाई केहि न केहि काम गरिरहनु पर्छ ।
यत्ति सानै उमेरमा उसले जुन सफलता पायो यो उसको पहिलो खुट्किलो हो । उसले यस्ता खुट्किलो अझ धेरै चढ्न बाँकी नै छ । उसको लागि यो सानो सफलता हो । तर हामीलाई भने यो सानो सफलताले पनि धेरै खुशी दिएको छ । समाजमा हाम्रो नाम उच्च बनाएको छ । यो श्रेय अनुशाको लगाव र कामप्रतिको मेहनतको फल हो ।
उसको कमजोरी भनेको अरुले नकारात्म टिप्पणी गरे ऊ धेरै हतोत्साहित हुने गर्छ । तर म बारम्बार सम्झाई रहन्छु । जुनसुकै काम गरेपछि प्रतिक्रिया त आइहाल्छ । त्यो प्रतिक्रिया सकारात्मक पनि हुन सक्छ, नकारात्म पनि हुन सक्छ । त्यसैले यसप्रति हतोत्साही नभइकन उत्साहित भएर आफ्नो कामप्रति लाग्नु पर्छ । अहिले त ऊ धेरै नै सहन सक्ने भैसकेको छ । साभारः चाम्फुरी मासिक 

प्रकाशित मिति : ११ आश्विन २०७४, बुधबार  ४ : २७ बजे