झापा, ११ असोज । सहारा नेपाल (साकोस) ले गत बर्ष पाँच अर्ब २८ करोड ४२ लाख ५१ हजार ६ सय ५८ को आर्थिक कारोबार गर्न सफल भएको छ ।
आर्थिक कारोबारको दृष्टिले प्रदेश नं १ कै सबैभन्दा ठूलो सहकारी संस्था बनेको सहारा नेपालले आर्थिक वर्ष २०७२÷२०७३ को तुलनामा गत वर्ष एक अर्ब ४८ करोड ३१ लाख ६० हजार ६ सय १ बढी कारोबार गर्न सफल भएको हो ।
उक्त अवधिमा संस्थाले तीन अर्ब ८० करोड १० लाख ९१ हजार आर्थिक कारोबार गरेको थियो । सहारा नेपालद्वारा यहाँ आयोजित ‘वित्तीय व्यवस्थापन’ सम्बन्धी तीनदिने तालीममा संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सो जानकारी दिए ।
त्यस्तै शेयर पुँजी ६२ करोड ३७ लाख ४७ हजार २०० पुगेको संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।
झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल शेयर सदस्यको हिसाबले पनि नेपालकै ठूलो संस्था हो । एक लाख १९ हजार २९७ शेयर सदस्य रहेको सहारा नेपालको कारोबार प्रदेश नं १ को १४ जिल्लामध्ये ६ जिल्लामा रहेको छ । गत वर्ष २९ करोड ५३ लाख ६५ हजार ९ सय ३ मुनाफा आर्जन गरेको सो संस्थाले उक्त अवधिमा पाँच करोड ५३ लाख ४३ हजार १३८ आयकर बुझाएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।
११ आश्विन २०७४, बुधबार
0
Shares







