२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

सोलुखुम्बुका नेतालाई दशैँले छोएन, उम्मेदवार बन्न दौडधुप



बुद्धवीर बाहिङ, सोलुखुम्बु । नेपालीहरुको महान चाड बडा दशैँको रौनक देशभर हर्सोल्लासका साथ भित्रिसकेको छ । नेपालमा मात्र होइन रोजगारको शिलशिलामा विदेशमा भएका नेपालीहरुले पनि दशैँलाई आ–आफ्नो तरिकाले हर्सोल्लासका साथ मनाइरहेका छन् । सोलुखुम्बुमा पनि दशैँको रौनक भित्रिसकेको छ । यहाँका स्थानीयकहरु आ–आफ्नो तरिकाले दशैँ मनाउने तरखर गरिरहेका छन् । घरआँगनलाई सिर्गान व्यस्त छन् स्थानीयहरु ।
तर यहाँका नेताहरुलाई भने दशैँले खासै छोएको छैन । आगामी मंसिर १० गते हुने ऐतिहासिक र पहिलो संघ र प्रदेशको निर्वाचनमा उम्मेदवारी आफ्नो पोल्टामा पार्नको लागि केन्द्रीय नेताहरुको घरदैलोमा दौडधुप गरिरहेका छन् । यूवादेखि राजनीतिमा लामो समयसम्म अनुभव सगाँलेका नेताहरु टिकटका लागि छलफल र बहसमा लागेका छन् ।
उम्मेदवारको दौडमा को को छन् ?
आगामी मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस, नेकमा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य दलका नेताहरु उम्मेदवारीको लागि परेका छन् । उम्मेदवारको संघमा भन्दा प्रदेशमा आफ्नै पार्टीभित्र आकांक्षीहरु बढि देखिएको छ ।

नेकपा एमालेबाट प्रतिनिधी सभाका लागि जिल्ला कमिटि अध्यक्ष मानवीर राई र पूर्व अध्यक्ष आङङिमा लामा आकांक्षी देखिएका छन् । अध्यक्ष राईका लागि निर्वाचनको पहिलो अनुभव हुनेछ भने लामाले दोस्रो संविधान सभाको निर्वाचन २०७० मा नै चुनावी अनुभव बटुलिसकेका छन् । तर प्रतिनिधी सभाको उम्मेदवारको टिकट लामाले भन्दा राईले पाउने सम्भावना बढि छ ।
त्यसैगरी प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट लामो समय राजनीतिमा खारिएका नेतादेखि यूवा नेताहरुले समेत दावी गरिरहेका छन् । डि. बी. किराती, लोचनकुमार शर्मा, जुद्धबहादुर कार्की, डिल्ली राई, हर्क राई, भिमराज राई, उत्तम बस्नेत आंकांक्षी देखिएका छन् ।

क्षेत्र नं. २ बाट प्रदेश सभाका लागि बुद्धिकुमार राजभण्डारी, आङदामी शेर्पा, बच्चुनारायण श्रेष्ठ र सोनामग्याल्जेन शेर्पा आकांक्षी देखिएका छन् । प्रतिनीधि सभाका लागि सोलुखुम्बुबाट मानवीर राईको नाममा सर्वसम्मत देखिएकाले आफूले संघमा उम्मेदवारी नदिएको नेता बुद्धिकुमार राजभण्डारीले बताए । संघमा दावी नगरेपछि प्रदेशको क्षेत्र नं. २ बाट उम्मेदवारी दिने समेत राजभण्डारीले बताए ।

उता नेपाली कांग्रेसका नेताहरुको दौडधुप बाहिरी रुपमा नदेखिए पनि भित्रि रुपमा प्यानल वाइज उम्मेदवारी आफ्नो पक्षमा पार्नको लागि कस्सिएर लागेका छन् । प्रतिनिधी सभाका लागि बलबहादुर केसी, गोकर्ण राई, पुरुषेत्तम बस्नेत र आङगेलु शेर्पा आकांक्षी देखिएका छन् । केसी पटक पटक जिल्लाबाट सांसद निर्वाचित भएकाले अब हुने प्रतिनिधी सभाको निर्वाचनमा केसी बाहेक अरुले टिकट पाउनु पर्ने दावी उनीहरुको छ ।

प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट सभापति विनोद वस्नेत, सूर्य कुलुङ, शंकर कार्की, प्रकाशसिं कार्की, छत्रध्वज बस्नेत, हेबबहादुर खड्का, खिलाराज बस्नेत र सन्तोष कट्टेल आकांक्षी देखिएका छन् । त्यस्तै क्षेत्र नं. २ बाट भोजराज कार्की, कुुुशाङ शेर्पा, प्रभुराम बस्नेत, मंगलसिं तामाङ, मनोज खड्का र निमा शेर्पा आकांक्षी देखिएको छ ।

त्यस्तै माओवादी केन्द्र सोलुखुम्बुले भने प्रतिनिधी सभा र प्रदेश सभाका लागि उम्मेदवारको सिफारिस टुंगाएको छ । प्रतिनिधी सभाका लागि राजेन्द्र बस्नेतलाई सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका सोलुखुम्बु जिल्ला इञ्चार्ज सुरवीर राईले बताए ।
प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट जिल्ला इञ्चार्ज प्रत्यक्ष उम्मेदवारमा हेमकुमार राई (सुरवीर) लाई सिफारिस गरिएको छ । भने क्षेत्र नं. २ बाट पूर्व सांसद आङदावा शेर्पालाई सिफारिस गरिएको इञ्चार्ज राईले बताए ।
पूर्व सांसद गोपाल किराती भने सोलुखुम्बुको प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारीका लागि सिफारिस गरिएको छ । किरातीलाई प्रदेश नं. १ को नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनाइएकाले प्रदेश सभाको समानुपातिकमा उम्मेदवारी बनाइएको हो ।
माओवादी केन्द्रको समानुपातिक उम्मेद्धामा क्षेत्र नं. १ बाट अनिल राई, फुलमाया परियार, सुनिता किराती आकांक्षी देखिएका छन् । क्षेत्र नं. २ बाट कज्र्याङ शेर्पा, धु्रव पराजुली, शिशिर खालिङ आकांक्षी रहेका छन् ।

सोलुखुम्बुमा प्रतिनिधी सभाका लागि निर्वाचन क्षेत्र १ कायम गरिएको छ । भने प्रदेश सभाका लागि निर्वाचन क्षेत्र २ कायम गरिएको छ । त्यस्तै स्थानीय तहमा एक नगरपालिका, ७ गाउँपालिका र ५२ वटा वडा कायम गरिएको छ । एक नगरपालिकामा सोलुदुधकुण्ड रहेको छ । ७ गाउँपालिकामा नेचासल्यान, दुधकौशिका, सोताङ, महाकुलुङ, दुधकोशी, लिखुपिके र खुम्बुपासाङल्हामु रहेका छन् ।
प्रदेश सभाका लागि निर्वाचन क्षेत्र २ वटा कायम गरिएको छ । निर्वाचन क्षेत्र नं. १ मा ४ वटा गाउँपालिकालाई गाभिएको छ । नेचासल्यान, दुधकौशिका, सोताङ र महाकुलुङ गाउँपालिकालाई गाभिएको छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा एक नगरपालिका र ३ वटा गाउँपालिकालाई गाभिएको छ । जसमा सोलुदुधकुण्ड नगरपालिका, दुधकोशी, लिखुपिके र खुम्बुपासाङल्हामु गाउँपालिकालाई गाभिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७४, बुधबार  ९ : ३८ बजे