नयाँ विश्वविद्यालयको गठनमा नै त्रुटि ः मन्त्री पौडेल

0 Shares

चितवन, २४ भदौ । शिक्षामन्त्री धनीराम (डिआर) पौडेलले नयाँ विश्वविद्यालय खोल्दा भएको त्रुटिका कारण त्रिभुवन विश्वविद्यालय र नयाँ विश्वविद्यालयबीचको विवादले निकास पाउन नसकेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले नयाँ विश्वविद्यालयको गठनमा नै त्रुटि रहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको भौतिक संरचना, प्राध्यापक, कर्मचारीसमेत प्रयोग हुने गरी नयाँ विश्वविद्यालय खुल्दै गर्दा त्रिविका सरोकारवालासँग त्यतिबेला छलफल नहुँदा विवाद टुङ्गिन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ विश्वविद्यालय खोल्दा त्रिविका प्राध्यापक, कर्मचारी बेखबर भए, त्यसको परिणाम अहिलेसम्म भोग्नु परेको छ ।” कृषि तथा वन विज्ञान विश्वविद्यालयसहितका नयाँ विश्वविद्यालय र त्रिविबीचको विवादको सुरुवाती विन्दुदेखि नै छलफल गरेर समस्या समाधान गरिने उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो “उपरी संरचनाका आधारमा छलफल गरेर निकास निस्कँदैन ।” अहिले विश्वविद्यालयको कुलपति, सहकुलपति र कतिपय विश्वविद्यालयमा जो उपकूलपति भएपनि निर्देशन दिएर यो समस्याको हल नहुने पौडेलको भनाइ थियो ।

विश्वविद्यालयलाई समन्वय गर्न ऐन जरुरी भएको उहाँले बताउनुभयो । मन्त्री पौडेलले उच्च शिक्षालाई व्यवस्थित गर्न उच्च शिक्षा ऐन ल्याउने पनि बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) अन्तर्गतका कार्यक्रम सरकारमार्फत सञ्चालन गर्नुपर्ने बताउँदै मन्त्री पौडेलले त्यही अनुरुप चितवनको शक्तिखोरमा सहिद स्मृति पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन गर्न प्रारम्भिक छलफल थालिएको बताउनुभयो ।

प्राविधिक शिक्षा दिइने हुँदा यस्ता इन्स्टिच्युट सरकार आफैँले सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । नेपालमा अहिले २५ हजारभन्दा बढी विद्यार्थी सिटिइभिटी अन्तर्गतका कार्यक्रममा अध्ययनरत छन् । मन्त्री पौडेलले अस्थायी शिक्षकको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार