बाढी पसेपछि पातीखोला जलविद्युतको उत्पादन ठप्प

0 Shares

फलेवास (पर्वत), २४ भदौ । खोलामा आएको बाढी विद्युत् उत्पादनगृहमा पसेपछि पातीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।

पर्वत जिल्लाको देउराली गाविस–६ घुरुङ्गामा रहेको एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।

गत बुधबार राति खोलामा आएको बाढी विद्युत्गृहमा पसेपछि उत्पादनगृहमा जडित टर्वाइनलगायतका सामानमा क्षति पुगेको छ । वर्षायामको समयमा पूर्ण क्षमतामा उत्पादन भएको आयोजनाको मुहानबाट पाइपमा क्षति पुगेको विद्युत् प्राधिकरणले जनाएका छ ।

त्यसैगरी उत्पादित विद्युत् मोदीखोला सवस्टेसनमा जडान गर्ने प्रसारण लाइनका १८ वटा विद्युत् पोल र वितरण लाइनका सातवटा पोलसमेत बाढीले ढालेको छ ।

अहिले पावरहाउसभित्रको हिलो पन्छाएर सफा गर्ने काम भइरहेको छ । बाढीका कारण रु १० लाखभन्दा बढीको क्षति पुगेको जनाएको छ । उत्पादनगृहभित्रको मर्मत केही दिनमै सकिने भए पनि धेरै विद्युत्पोल ढलेकाले मर्मत गर्न लामो समय लाग्ने आयोजनाका प्रमुख शिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतका लागि प्राविधिक टोलीलाई बोलाउने काम भइरहेको छ ।

बाढीका कारण पातीखोला आसपासको १० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीसमेत नष्ट भएको छ । बाढीका कारण तीन घर बगाएको थियो भने बाँकी तीन घर जोखिममा परेका छन् । अहिले उनीहरु सबै आफन्तकोमा शरण लिएर बसेको स्थानीयवासी जीतबहादुर बरुवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार