काठमाडौँ, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवं सम्मानित गर्दै उनीहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गरेका छन् ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवं सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गरेका छन् । “जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पु¥याउनुभएका ज्येष्ठ नागरिक निश्चय नै राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका छन् । “ज्येष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, ज्येष्ठ नागरिकबाट असल संस्कृति र संस्कार भावी पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवं नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण सृजना गर्नु नै ज्येष्ठ नागरिक दिवसको महत्व रहन्छ,” सन्देशमा राष्ट्रपतिले भनेका छन् ।
नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सम्मानस्वरुप राज्यका तर्फबाट समाजिक सुरक्षा भत्ता एवं विभिन्न सेवा सुविधासमेत प्रदान गरिँदै आएकामा उहाँले सराहना पनि गरेका छन् ।
१५ आश्विन २०७४, आइतबार
21
Shares







