३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

खुम्बुपासाङल्हामु गाउँपालिमा पर्यटक प्रवेश शुल्क उठाउन शुरु



बुद्धवीर बाहिङ/सोलुखुम्बु, १६ असोज । खुम्बुपासाङल्हामु गाउँपालिकामा घुम्न आउने विदेशी पर्यटकलाई प्रवेश शुल्क बापत २ हजार रुपैया उठाउन शुरु गरिएको छ । गाउँपालिकाको बैठकले गएको असार २५ गतेको निर्णयलाई कार्यान्वय गर्दै पर्यटकलाई प्रवेश शुल्क उठाउन शुरु गरिएको हो । प्रत्येक पटक खुम्बुपासाङल्हामु गाउँपालिका प्रवेश गर्ने विदेशी पर्यटकलाई प्रतिव्यक्ति २ हजार रुपैयाका दरले प्रवेश शुल्क उठाउन थालिएको छ ।

आइतबार (अक्टोबर १ तारिख) बाट खुम्बु प्रवेश गर्ने प्रत्येक विदेशी नागरिकलाई प्रवेश शुल्क बापत २ हजार रुपैया उठाउन थालिएको खुम्बुपासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाले बताए । ‘अब यस गाउँपालिकाभित्र टिम्सकार्डको आवश्यकता छैन, हामीले हिजो विहानै छुमोवा (मन्जो) मा रहेको टिम्स चेक पोस्टलाई हटाइ सकेका छौं’ अध्यक्ष शेर्पाले भने ।

प्रतिकूल मौसमका बाबजुत आइतबार तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा एउटा पनि हवाईजहाजले उडान भर्न सकेन । तर विभिन्न कम्पनीका हेलिकोप्टर मार्फत ६७ पुरूष र ३४ महिला गरी जम्मा १०१ जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेका थिए । यी सबै पर्यटकले प्रवेश शुल्क दस्तुर बुझाएको अध्यक्ष शेर्पाले बताए ।

खुम्बु क्षेत्र भ्रमणमा आउने विदेशी पर्यटकहरुले अबदेखि गाउँपालिका प्रवेश शुल्क र सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश हुल्क मात्र बुझाउँदा हुन्छ । यस क्षेत्रमा टिम्स कार्डलाई भने पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष शेर्पाले बताए ।

सामाजिक सञ्जालको प्रतिक्रिया
खुम्बुपासाङल्हामु गाउँपालिका प्रवेश गर्ने विदेशी पर्यटकलाई प्रत्येक पटक प्रतिव्यक्ति २ हजार रुपैया प्रवेश शुल्क उठाउने गाउँपालिकाको निर्णयको समर्थन गर्नेको संख्या बढेको छ । सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिकाले गरेको निर्णय र निर्णयको कार्यान्वयन गरेकोमा कमेन्ट बक्समा प्रतिक्रिया लेख्दै समर्थन जनाएका छन् ।

पर्यटकलाई प्रवेश शुल्क उठाउने निर्णयको केहिले मात्र विरोध गरेका छन् । अधिकांश व्यक्तिको प्रतिक्रिया भने स्थानीय तहले गरेको निर्णय एकदमै सही भएको बताएका छन् । ‘अब चुनौती पनि उत्तिकै छ,’ फेसबुकमा विभिन्न व्यक्तिले प्रतिक्रिया दिएका छन् । सगरमाथा क्षेत्र भ्रमणमा जाने पर्यटकलाई आकस्मिक उद्धार गर्नु पनि अब खुम्बुपासाङल्हामु गाउँपालिका सञ्चालकको कतव्य र जिम्मेवारी हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७४, सोमबार  ११ : ५६ बजे