पोखरा, १९ असोज । प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले विमानस्थल सुरक्षालाई प्रभावकारी बनाउन सम्बद्ध निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । विमानस्थल सुरक्षा गार्ड पोखराको बुधबार निरीक्षण तथा अवलोकनका क्रममा उनले विमानस्थल जस्तो संवेदनशील स्थानको सुरक्षा सुव्यवस्था कायम राख्न उच्च सतर्कताका साथ चुस्तदुरुस्त रुपमा प्रहरी परिचालन गरी सेवाग्राहीलाई सुरक्षित महसुस हुने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।
उनले विमानस्थलमा रहेका सम्पूर्ण कक्षका साथै सुरक्षा सतर्कताका लागि जडान गरिएका स्रोतसाधनको निरीक्षण गर्दै विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीको कार्यालय, ब्यारेक, मेशलगायतको निरीक्षण गरेका थिए । उनले विमानस्थल विभिन्न देशका नागरिकको आवागमन हुने प्रमुख स्थानसमेत भएकाले यसमा विभिन्न आपराधिक क्रियाकलाप समेत हुनसक्ने बताउँदै यसप्रति सधैँ चनाखो रहन समेत निर्देशन दिएका थिए ।
निरीक्षण कार्यक्रममा संघीय एकाइ प्रहरी कार्यालय, गण्डकीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतम, ४ नं प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरलगायतका प्रहरी अधिकृतको उपस्थिति थियो ।
१९ आश्विन २०७४, बिहिबार
21
Shares







