७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

वाम तालमेललाई बलियो बनाउनुपर्छ : नेता नेपाल



काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि वामपन्थी शक्तिको तालमेल र एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् । सो पार्टीको पेसागत विशेष जिल्ला कमिटीले आज यहाँ बुद्धिजीवीका लागि आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जनताको चाहना र मुलुकको आवश्यकता बमोजिम वाम तालमेल भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।
“एकीकरणको यस अभियानमा त्याग र समपर्णका साथै आपसी विश्वास र समन्वयको पनि आवश्यकता पर्छ”, नेता नेपालले भने, “यस्तो समयमा एक शक्तिले अर्काे शक्तिलाई आरोपित वा अविश्वास गर्ने काम गर्नु हुँदैन ।” नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच यही असोज १७ गते आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल र एकताको घोषणा भएको थियो ।
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले उक्त तालमेलका आधारमा मत ल्याई कम्युनिष्टले स्थायी सरकार सञ्चालन गरेर मुलुकलाई समृद्धिमा लाने बताए । कार्यक्रममा आगामी प्रतिनिधि सभाका सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं १ बाट एमालेका सावित्रा भुषाललाई प्रत्यक्षतर्फको उम्मेदवारी घोषणा गरियो ।

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार  २ : २७ बजे