जैविक विषादीको प्रयोग बढ्दै

7 Shares

इलाम, २५ भदौ । जैविकमैत्री जिल्लाका रूपमा विकास गर्ने रणनीति लिएपछि इलाममा रासायनिक विषादीको प्रयोग घट्दै गएको पाइएको छ ।

जिल्ला कृषि विकास कार्यालयले गत वर्षदेखि रासायनिक विषादीको प्रयोग घटाउने नीति तथा कार्यक्रम सुरू गरेपछि विषादीको प्रयोग घट्दै गएको हो । आर्थिक बर्ष २०७१÷०७२ मा ९५२ लिटर झोल र ७३३ किलोग्राम रासायनिक विषादी प्रयोग भएकोमा गत आर्थिक बर्षमा ९०७ लिटर झोल र ६९७ किलोग्राम विषादी मात्र प्रयोग भएको कार्यालयले जनाएको छ ।

रासायनिक विषादी प्रयोग घट्दै गएपछि जैविक विषादीको प्रयोग आफै बढ्दै गएको कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०७१÷०७२ मा ४६८ किलोग्राम झोल र ४५२ किलोग्राम धुलो जैविक विषादी प्रयोग भएको थियो भने गत बर्ष ५१३ लिटर झोल र ४८८ किलोग्राम जैविक विषादी प्रयोग भएको कार्यालयका प्राविधिक सहायक केशरबहादुर मग्रातीले बताउनुभयो ।

रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्य र जमिनको उर्वराशक्तिमा ह्रास आउने भएकाले यसको प्रयोग कम गर्दै जैविक विषादीको प्रयोगलाई बढवा दिन थालिएको उहाँको भनाइ छ ।

विभिन्न जडीबुटी र झारपातबाट तयार गरिएको जैविक विषादी अहिले जिल्लाका चिया बगानमा समेत प्रयोग गर्न थालिएको छ ।

कार्यालयले करिब दुई वर्षअघि फिक्कल र गोदक गाविसमा गरेको परीक्षणमा मानिसको रगतमानै रासायनिक विषादीको असर देखिएपछि कार्यालयले रासायनिक विषादीको प्रयोग घटाउने नीति अवलम्वन गरेको छ ।

एकैचोटी रासायनिक विषादीको प्रयोग निषेध गर्न समस्या भएकाले विस्तारै घटाउँदै लगेर शून्यमा झार्नुपर्ने मग्रान्तीले बताउनुभयो । जैविक विषादीको माग निकै उच्च भए पनि कार्यालयले हाल अदुवा, धान, मकै, गहुँको बीउ उत्पादनका लागि मात्र जैविक विषादी वितरण गर्दै आएको छ ।

पर्यटक आगमनमा कमी
पर्यटन विकास तथा विस्तारका लागि बर्सेनि लगानी वृद्धि गरेपनि जिल्लामा पर्यटक आगमनमा भने कमी देखिएको छ ।

जोरकलसस्थित पर्यटन सूचना केन्द्रका अनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष इलाम भित्र्ने पर्यटकको सङ्ख्यामा कमी देखिएको हो । अघिल्लो वर्ष १६ हजार ८०० पर्यटक जिल्ला भित्रिएकोमा गत बर्ष १४ हजार ८४० जना पर्यटक घुम्न आएका हुन् । तीमध्ये २०० भारतीय र १७ विदेशी पर्यटक रहेका छन् ।

नाकाबन्दी, मधेस आन्दोलनलगायत अन्य कारणले पर्यटक प्रभावित भएको हुन सक्ने अनुमान केन्द्रका सूचना अधिकारी गगन घिमिरेको छ । साउनको अन्तिम साता २१२ र भदौ १५ गतेसम्ममा ४४४ जना पर्यटक जिल्ला भित्रिएको जानकारी उहाँले दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार