सोलुखुम्बु । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस कमजोर भए लोकतन्त्र धरापमा पर्ने दोहो¥याएका छन् । शनिवार सोलुखुम्बुको दुधकौशीका गाउँपालिकाको जुबुमा आयोजित नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रधानमन्त्री देउवाले विगतमा कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको भन्दै निर्वाचनमा कांग्रेसले जितेमात्रै लोकतन्त्र बच्ने बताएका हुन् ।

फाईल फोटो ।
अबेर जुबु आएका देउवाले कार्यक्रमलाई छोटो सम्बोधन गर्दै कांग्रेस एक भएर सोलुका तीन वटै सिटमा जितेको हेर्न आतुर रहेको बताए । ताप्लेजुङ र पाँचथरको चुनावी कार्यक्रम सकेर साँझ हेलिकोप्टर मार्फत जुबु आएका देउवा शनिवार काठमाडौं जाने समय अभाव भएपछि खुम्बु पासाङल्हामु गाउँपालिकाको लुक्ला बजारमा बास बसेका छन् ।
कार्यक्रममा प्रतिनिधी सभा उम्मेदवार बलबहादुर केसीले संविधानको कार्यान्वयन र जिल्लाको विकासको लागि कांग्रेसले जित्नुपर्ने बताए । उता प्रदेश सभा ‘क’ का उम्मेदवार प्रकाशसिं कार्कीले आफू निर्वाचित भए राज्यबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने भन्दै युवालाई रोजगारी सिर्जना गर्न पहिलो प्राथमिकता भएको बताए ।
चुनावी कार्यक्रममा समानुपातिक उम्मेदवार डोल्मा तामाङ, जिल्ला सभापति विनोद बस्नेत लगायतले मन्तव्य राखेका थिए ।







