२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सिरहा जिससमा वाम गठबन्धनको समूह नै विजयी



लहान । जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन प्यानलै विजयी भएको छ ।
जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा (एमाले)का सरोजकुमार यादव विजयी भएका छन् ।
समन्वय समितिको संयोजक र सहसंयोजकमा निर्वाचित ठाकुर र यादवले १८÷१८ मत प्राप्त गरेका छन् भने संयोजक पदका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष बादलप्रसाद यादवले १४ तथा सहसंयोजक पदका प्रतिस्पर्धी नेपाली काँग्रेसका बिसुन साह बनियाँले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।
त्यसैगरी, दलित तथा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका कृष्णमाया कामी, नेकपा (एमाले)बाट गीताकुमारी पासवान र नुरजहाँ खातुनले १८÷१८ मत ल्याई विजयी भएका छन् भने उनीहरुका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी पुनातादेवी पासवान र रामप्यारी महतो कोइरीले १४÷१४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।
त्यस्तै, समितिका अन्य सदस्य पदमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेशकुमार सिंह, छविलाल यादव र शुभनारायण साहले १८÷१८ मत ल्याइ विजयी भएका छन् छ भने उनीहरुका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका नागेन्द्रप्रसाद यादव र नेपाली काँग्रेसका सुरेन्द्र साहले चार–चार मत तथा फोरमका राजकुमार महतो र रामरतन कामतीले नौ–नौ मत प्राप्त गरेका थिए ।
साथै, दलित महिला सदस्यमा चेतरा मोची निर्विरोध निर्वाचित भएका छन् । सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४ जना जिल्ला सभासद् सदस्यमध्ये ३३ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार  ३ : ११ बजे