४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

एमाले कै झण्डा ओढेर मर्छु : सोनाम छिरिङ शेर्पा

“सहयोग माग्न बलबहादुर केसी पनि मेरो घरमा आए”



सोलुखुम्बु । नेकपा एमालेका नेता सोनाम छिरिङ शेर्पाले अब कुनै पार्टी परिवर्तन नगर्ने बताएकाछन् । सोमबार सल्लेरीमा पत्रकार सम्मेलन गर्दै शेर्पाले नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रवादी अडानले आफूलाई प्रभाब पारेकोले आफू एमाले आएको प्रष्ट पारे ।
शेर्पाले राजनीतिक दृष्टिकोणमा चित्त नबुझ्दा बिद्रोह गर्ने अधिकार सबैमा रहेको भन्दै भने “अब बाँकी अवधी एमालेकै राजनीतिमा बित्छ र नेकपा एमालेका झण्डा ओढेर नै मृत्यु हुन्छ ।”

सोलुखुम्बु बाम गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै शेर्पाले एमाले एक्लैले चुनाब जित्ने स्थितिमा माओवादी थपेर बाम गठबन्धन बनेको र त्यसमा आफू पनि थपिएकोले सहज जित हुने दाबी गरे ।
एमाले प्रवेशका लागि कुनै लेनदेन नभएको प्रष्ट गर्दै उनले सहयोगका लागि कांग्रेस नेता बलबहादुर केसी पनि आफ्नो घरमा आएको बताए ।
शेर्पाले आफ्नो राजनीतिक अनुभवले बहुमतले बाम गठबन्धनको सरकार बन्ने ठोकुवा गर्दै सोलुखुम्बुमा बाम गठबन्धनका उम्मेदवारहरु हेमकुमार राई सुरवीर, बुद्धिकुमार राजभण्डारी र उत्तम कुमार बस्नेतको जित सुनिश्चित रहेको दाबी गरे ।
उनले आफू अवसरवादी नभएको भन्दै भने “ठूलो पद, व्यापार लिएर पार्टी फेर्ने हो तर सोनाम छिरिङले जिन्दगीमा कुनै पार्टीमा पद लिएर खाएको छैन, राजनीतिक दृष्टिकोणमा चित्त नबुझ्दा बिद्रोह गर्ने अधिकार छ ।”
एमाले प्रवेश गर्नासाथ बाम गठबन्धनको चुनाबी अभियानमा सक्रीय रहेका शेर्पाले कांग्रेसले शेर्पा समुदायका लागि केही नगरेको समेत आरोप लगाए ।
पत्रकार सम्मेलनमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष मानवीर राई, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शिव बहादुर बस्नेत राजेन्द्र, एमाले नेताहरु आङ ङिमा शेर्पा, आङ इगेले झलक शेर्पा, आङ दामी शेर्पाका साथमा प्रदेश ख का उम्मेदवार बुद्धिकुमार राजभण्डारी लगायत्को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार  १ : ५० बजे