५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

पैसा खोस्न काँग्रेस र वामका कार्यकर्ताहरुको लुकामारी ! एक बुथ १०० वाम युथ !!



ओखलढुंगा । वाम गठबन्धनमा आबद्ध दलका भातृ संगठनहरुले ओखलढुंगामा मंसिर १० गते हुने पहिलो चरणमा हुने संघीय प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको मौन अवधिमा विपक्षीले पैसा बाँड्न थालेको भन्दै निगरानी गर्न वाइसिएल र युवा संघको संयुक्त फोर्स परिचालन गरेको छ । बुधबारदेखि नै मौन अवधि शुरु भए पनि मतदाता प्रभावित गर्न विभिन्न गतिविधी हुन थालेका छन् । विपक्षिका यस्ता गतिविधी अनुगमन गरेर पैसा बाड्ने काम रोक्न रेड फोर्स तैनाथी गरिएको गठबन्धनका एक नेताले बताएका छन् । उनका अनुसार जिल्लाका ७५ वटै वडामा १०० जनाको समुहमा रहेको संयुक्त फोर्स परिचालन गरिएको हो । त्यसरी परिचालित भएको उक्त समुह मतदातासमक्ष नदेखिने, उनीहरुसँग सम्पर्क नगर्ने तर विपक्षी दलका गतिविधीको सुराकी गरेर मतदाता प्रभावित पार्ने काम गर्न लागे अवरोध गर्ने उद्देश्य रहेको छ ।
युवाहरुको फोर्स परिचालन गरिएको विषयमा ती नेताले काँग्रेसका गतिविधी अनुगमन गर्न र पैसा बाँडेमा नियन्त्रणमा लिन युवाहरुको समुह खटाइएको बताएका छन् । उनले मतदातालाई किन्न र त्रसित पार्ने काम रोक्ने उद्देश्य रहेको बताएका छन् । विभिन्न स्थानमा पैसा बाँडेका सुचना आएकाले त्यस्ता कार्य रोक्न युवाहरुको समुह सक्रिय पारिएको उनको दावी छ ।
युवा परिचालनका विषयमा युवा संघका जिल्ला अध्यक्ष राजन खत्रीले मतदाता किन्न पैसा बाँड्न थालिएको भरपर्दा सुचना आएपछि पैसा बोकेर हिड्नेहरुको खोजी गर्न युवा संघ र वाइसिएलको संयुक्त टोली परिचान गरिएको पुष्टी गरेका छन् । खत्रीले मतदाता प्रभावित गर्ने, भोट माग्ने र पैसा बाड्ने काम गर्ने समुहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने बताउनुभयो । ‘संविधानले परिकल्पना गरेको स्वच्छ निर्वाचनलाई प्रभावित पार्ने, आर्थिक चलखेल गरेर मतदाता किन्न खोज्ने र निर्वाचन भाड्न खोज्ने विरुद्ध जिल्लाभर संयुक्त रुपमा युवा परिचालन गरिएको हो’ खत्रीले भन्नुभयो ।
स्रोतका अनुसार वाम गठबन्धनका भातृ संगठनहरुले चम्पादेवी, मानेभञ्ज्यांग, सुनकोशी र खिजीदेम्वामा बढी निगरानी बढाएका छन् । अन्य वडाहरुमा समेत नियमित युवा परिचालन गरिएको छ ।
यसैबीच युवा संघ र वाइसियलले पैसा सहितको गाडी नियन्त्रणमा लिएको दावी गरेको छ । शुक्रबार राति ८ बजे ओखलढुंगाबाट चिसंखुगढी ३ दियालेबाट दुई लाख पैसा सहितको काँग्रेसले खटाएको गाडि एक घण्टा नियन्त्रणमा लिइएको वाइसियलका नेता अशोक थापाले बताउनुभयो । थापाका अनुसार नियन्त्रण लिइएको पैसा काँग्रेसका कार्यकर्ताहरुले नबाड्ने शर्तमा कांग्रेस कार्यकर्ताले माफी मागेपछि छोडिएको छ । घटनाबारे प्रहरीले अनभिज्ञता प्रकट गरेको छ ।
यसरी मौन अवधिमा वाम गठबन्धन र काँग्रेसका कार्यकर्ताहरु एक अर्कोलाई लक्षित गरि परिचालित भएपछि सुरक्षा चुनौति थपिएको छ । झडप हुने आशंकामा सुरक्षा सर्तकर्ता अपनाइएको र प्रहरीले गस्ती समेत थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार  ३ : ५० बजे