वन अतिक्रमण हटाइयो

0 Shares

म्याग्दी, १२ भदौ । बेनी नगरपालिका–८ अर्थुङ्गेस्थित सानो चौतारी महिला सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।

स्थानीय केही व्यक्तिले सामुदायिक वन क्षेत्रमा गरेको अतिक्रमण हटाएर वृक्षरोपण गरिएको हो । सानो चौतारी महिला सामुदायिक वन उपभोक्ता समूहको सक्रियता र मङ्गलाघाट इलाका वन कार्यालयको पहलमा २.३ हेक्टर क्षेत्रफलमा भएको अतिक्रमण हटाइएको हो ।

अतिक्रमण हटाएपछि सामुदायिक वनको क्षेत्रफल ४.३ हेक्टर पुगेको मङ्गलाघाट इलाका वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । यसअघि सो सामुदायिक वनको क्षेत्रफल दुई हेक्टर थियो ।

अतिक्रमण हटाएको पाखोमा नयाँ साँध सिमाना कायम गरी डालेघाँस प्रजातिका एक हजार ९५० वटा बिरुवा रोपिएको सहायक वन अधिकृत ठाकुरले जानकारी दिनुभयो ।

म्याग्दीमा सञ्चालित समुदायमा आधारित वन अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म करिब ४०० हेक्टर अतिक्रमित वन बल प्रयोग बिना नै फिर्ता भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार