७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

प्रमको भनाइ,राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने


३० पुस २०७४, आइतबार  

7
Shares

धनगढी, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएको छ ।

सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उहाँले “राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट गरेको छ ।

उहाँले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताए ।

सो अवसरमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद नारदमुनि रानाले चुनावमार्फत आएको नयाँ जनादेशबमोजिम मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयोे ।

गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने योजनाअनुसार यस वर्ष बाह्रराशि दर्शन मकर मेला गरिएको आयोजक समितिले जनाएको छ ।

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएको शास्त्रीय मान्यतानुसार प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गरिएको आयोजक समितिका संयोजक पदमराज जोशीले बताए।

गोदावरी धाममा बाह्रराशिको स्थापना गरी प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवं पूजाको व्यवस्था मिलाइएको छ । त्यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्थासमेत गरिएको छ । मेला माघ १ देखि १२ गतेसम्म लाग्ने जनाइएको छ ।

हरेक वर्ष मकर सङ्क्रान्तिका दिन गोदावरीमा मेला लाग्दै आएको छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरी धामस्थित गोदावरी नदीमा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद, मकर मेला आयोजक समितिका संयोजक जोशी, सहसंयोजक मदनराज पाण्डेय, हरिलाल गिरीलगायतले धामको विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७४, आइतबार  ११ : ०२ बजे