अस्पतालको झ्यालबाट हाम्फालेर किन आत्महत्या गरे विजयले ?

 राजेन्द्र मानन्धर, दोलखा । विजय खड्का अन्तिमपटक दोलखाको मालुस्थित गृहगाउँ आउँदा निरोगी देखिन्थे ।

तीन महिनाअघि गाउँमा भएको दियाली पर्वमा दुवै मृगौला (किड्नी) ले काम नगर्ने पीडा लुकाउँदै विजय खुबै रमाएको गाउँलेले झल्झली सम्झिरहेका छन् । उनै विजयले त्रिविवि शिक्षण अस्पतालको झ्यालबाट ‘हाम्फालेर’ ज्यान गुमाएको खबर सुन्दा भने गाउँले छाँगाबाट खसेजस्तै भए । मालु- ४ मा बस्दै आएका विजयका माइला बुबा रमेश खड्का शोकमग्न अवस्थामा भन्छन, ‘तीन महिनाअघि दियाली पर्वलाई रमाइलोसँग मनाएर फर्किएका विजय अब फेरि कहिल्यै गाउँ नाआउने गरी संसारबाट बिदा भए ।’

मृगौलाको रोगी विजय डेढवर्षदेखि आहात थिए । दुबै मृगौलाको समस्यापछि थपिएका अनेक पीडादायक रोगहरु उनका लागि बोझ थियो । त्यसमाथि बुबा शिवबहादुरको चौकीदारी जागिरबाट आउने पैसाले नधान्नेगरी आफ्नो उपचारमा खर्च भइरहेकोमा विजयले थप पीडाबोध गर्थे । ‘त्यही छोराको उपचारका लागि भनेर भाइ शिवबहादुरले गाउँको घरजग्गाबाहेक सबै बेच्यो,’ रमेश भन्छन, ‘आखिर छोरा पनि रहेन, बाबु पनि कङ्गाल भयो ।’

शिवबहादुरले करिव एकवर्षअघि गाउँको पाँचपाथी बीऊ जाने खेत र चारमाना मकैको बीऊ जाने बारी बेचेर हिँडेको रमेशले बताए । उनका अनुसार शिवबहादुरले घरबारी राखेर करिब दुई लाख जतिमा जमिन बेचेर छोरोको उपचारमा खर्च गरेका थिए । बचाउने अनेक प्रयासको बाबजुत १८ वर्षीय विजयले पराजयको बाटो रोजेकोमा परिवार अति नै खिन्न छन् ।

विजयका जेठा दाइ २४ वर्षीय विनीतको भनाइमा अन्तिम प्रयासस्वरुप आमा श्याममायाले छोराको लागि मृगौला दान गर्ने निर्णय गरेकी थिइन् । मृगौला दिनुअघि आमाको स्वास्थ्य परीक्षण गर्दा लाग्ने खर्च जुटाउँदै गर्दा दुर्भाग्य निम्तिएको उनले बताए ।

दोलखा मालुको पहाडी बसाई त्यागेर हिँडेका शिवबहादुर र श्याममायाले तीनवटा छोरा काठमाडौंमा हुर्काए । कृषि सामाग्री संस्थानको चौकीदारी जागिरले तीनैजनालाई पढाए । जेठा विनीत पढाइसकेर भर्खरै काममा लागेका थिए । माइला विपीन र कान्छा विजय पढ्दै थिए । बुबाको तलबबाट आउने करिब चौध/पन्ध्र हजारले जेनतेन सुखी जीवन गुजारी रहेका परिवारलाई विजयमा आइपरेको समस्याले ठूलो दु:खको भूमरीमा हुल्यो । उठ्नै नसक्नेगरी परिवारलाई थला पार्‍यो ।

‘पुर्ख्यौली जमिन सकिनु भनेको नेपाली समाजमा ठूलो दु:खमा फस्नु हो । भएको गरगहना बेचेर सक्नु, पत्याउनेजतिसँग ऋण माग्ने अवस्थामा पुग्नु मध्यमवर्गीय नेपालीलाई त्यो भन्दा ठूलो अर्को पीडा हुन सक्दैन । सबै सकियो, भाइ पनि बँचेन,’ विनीतले खिन्न हुँदै भने ।

करिब एक दशक नेपाली सेनामा जागिरे जीवन विताएर रोजगारीका लागि विदेश गएका शिवबहादुरको साथमा केही रकम जोहो थियो । जव विजयमा समस्या देखिन थाल्यो, त्यसपछि जम्मा भएको पैसा क्रमिक रुपमा खर्च हुँदै अहिले उनको परिवार ‘कङ्गालपति’ भएको शिवका माइला दाजु रमेशले अतित सम्झदै भने ।

किन गरे विजयले आत्महत्या?
जेठा छोरा भएको नाताले विनीतले भाइ विजयको मृत्यूसम्मको अवस्था बाबुपछिको भूमिकाको नाताले नजिकबाट बुझेका छन् । विनीतको अनुमानमा विजयको आत्महत्याको मूल कारण गरिबी नै हो । आफ्नो कारणले क्रमिक रुपले परिवार कङ्गाल हुँदै गएकोमा उनी बेलाबेला दु:खि हुन्थे ।

सरकारले हप्ताको दुईपटकसम्म डाइलोसिस गर्ने विरामीलाई नि:शुल्क उपचार गर्ने भन्ने छ । तर विजयलाई तीनपटक डाइलोसिस गर्दा हप्ताको एक पटक ३१ सय तिर्नुपर्थ्यो । दुईपटक डइलोसिस गर्नुपर्दा पनि अस्पतालभित्र नभएको भन्दै पाँच/छ सयको औषधि बाहिर किन्नैपर्थ्यो । हप्ताको तीनपटक ट्याक्सीमा अस्पताल धाउँदा थप खर्च हुन्थ्यो ।

जतिसुकै बचाएर खर्च गर्दा पनि महिनाको २० देखि २५ हजार उपचारमा खर्च हुन्थ्यो । बाबुको तलबको बाबजुत भएको जायजेथा बेच्दै, ऋण गर्दै उपचार गर्दा करिब १४ लाख खर्च भएको विनीतले बताए । जतिसुकै खर्च भए पनि छोरा बचाउन परिवारले हिम्मत गरिरहदाँ विजयले देहत्यागे ।

देहत्यागको अर्को कारण किड्नी प्रत्यारोपणसम्बन्धि जटिल कानून भएको विनीतको दु:खेसो छ । आर्थिक समस्याले विजयलाई मृगौला पत्यारोपण गर्न भारत लानसक्ने अवस्था थिएन। नेपालमा परिवारका सदस्यबाहेक अरुले किड्नी दान गर्न पाउँदैनन् । जसले गर्दा विजयकाबारे मृगौला प्रत्यारोपणको थप विकल्प सोचिएन । परिवारका सदस्यमध्ये आमा राजी भइन् तर स्वास्थ्य परीक्षणका लागि सरकारले नि:शुल्क व्यवस्था नगरिदिदाँ उक्त कार्यमा ढिलासुस्ती भयो । जहिल्यै अरु कुनै रोगले सताइरहँदा मृगौला प्रत्यारोपण कार्यमा बाध पुगेकोप्रति पनि विजय दिक्क भइरहन्थ्यो ।

मृगौलामा खराबीसँगै आइपरेको विभिन्न रोगको पीडा विजयका लागि थप घातक थियो । पेटमा पानी भरिएर आइरहने समस्याले उनलाई गलाइरहेको थियो । रुघाखोकी र ज्वरोको सिकार भइरहन्थे । पेटको उपचारका क्रममा अनावश्यक र घातक औषधि सेवन गराइएका कारण भाइ झनझन कमजोर हुँदै गैरहेको परिवारका सदस्यले अनूभुति गर्थे ।

विजयलाई जबरजस्ती कडा औषधीहरु सेवन गराउनु चिकित्सकको लापरवाही भएको विजयको गुनासो छ । तर, भाइको मृत्यूमा कसैलाई दोष नलगाउने परिवारको निर्णय छ । विनीत भन्छन्, ‘भाइको निधनले मर्माहत बनाइरहेका बेला डाक्टरको भनाई कोड गर्दै मिडियामा विजयले मानसिक औषधि सेवन गरिरहेको भन्दै आत्महत्याको कारण किटान गर्न खोजेकोमा भने अति नै दु:ख लागेको छ ।’ परिवारका सदस्यको दाबी अनुसार विजयले कुनै मानसिक औषधि सेवन गर्ने गरेका थिएनन् ।

विजयको मृत्यु संस्कार सक्न काठमाडौंस्थित बाहलमा बसेको मनमैज्यूको एउटा कोठामा शिवबहादुर किरिया गर्दैछन् । उनलाई छोरा विजयको मृत्युप्रति गहिरो दु:ख छ ।
कतैबाट चित्त बुझाउने कठिन पर्ने घटनालाई उनी विर्सन चाहन्छन् । ‘बुबाको कामना छ, कुनै पनि रोग र गरिबीका कारण छोरा विजयले जस्तो अरुले आत्महत्याको बाटो राज्नु नपरोस,’ विनीतले बाबुको भनाई सुनाए ।

साभार ईकान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार