७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

पहिलो पटक क्यान्सर रोगीको तथ्याँक लिइँदै



काठमाडौँ । क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहापाउन सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत पहिलो पटक ‘जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’को आजदेखि शुरु गरेको हो । सरकारका कुनै पनि निकायसँग अहिलेसम्म क्यान्सरका कति बिरामी छन् भन्ने एकिन तथ्याँक छैन ।

lung cancer

पहिलो चरणमा उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरबाट तथ्याँक संकलन कार्यको शुरु हुने र यसपछि सातवटै प्रदेशका ७७ जिल्लाका प्रत्येक स्थानीय निकायबाट सूचना संकलन गरिने परिषद््का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले राससलाई जानकारी दिए ।
क्यान्सरका बिरामीमध्ये कति पुरुष, कति महिला, कुन उमेर समूहका हुन् भन्ने जानकारी लिइने छ । यस अतिरिक्त कुन प्रकारको क्यान्सर रोग हो, सरकारी सुविधा लिए÷नलिएको, रोगको परीक्षण (उपचार) स्वदेश अथवा विदेशका कुन स्वास्थ्य संस्थामा गराएको लगायतका विषयमा समेत सूचना संकलन गरिने छ ।
क्यान्सर रोग पत्ता लागेर पनि विविध कारण घरमै रहेका बिरामीको संख्यासमेत यकिन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिन जाने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिक रुपमा सन् २००३ देखि बिपी कोइराला क्यान्सर अस्पतालबाट सूचना संकलन गर्न थालेको थियो । पछिल्लो समयमा नेपालमा खासगरी महिलाको पाठेघर र स्तन, रगत, हड्डी जस्ता अंगको क्यान्सर रोगी बढ्दै गएको बताइन्छ ।
सूचना तथा जानकारी कुन विधि र प्रक्रियाबाट संकलन भन्ने विषयमा ज्ञान लिन परिषद्ले भारतको प्रसिद्ध टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालीम लिन आफ्ना कर्मचारीलाई पठाएको थियो ।
मन्त्रालयले चार महिनाअघि क्यान्सरका रोगीको विवरण संकलन गर्न परिषद्लाई जिम्मेवारी सुम्पेको थियो । सरकारले मुटु, मिर्गाैला, क्यान्सरलगायतका रोगका उपचार गर्न रु एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने यस्ता बिरामीका लागि मासिक रु पाँच हजार थप दिने तयारी समेत थालेको छ ।
मन्त्रालयअन्तर्गतको व्यवस्थापन महाशाखाले हाल विभिन्न ५० प्रकारका विधि प्रयोग गरी २३४ प्रकारका रोगका बारेमा अभिलेख राख्दै आएको छ । सरकारी स्वास्थ्य सस्थामा सेवा लिन आएका बिरामीमध्ये त्यो व्यक्ति कुन प्रकारका रोगी हुन् भन्ने अभिलेखबाट जानकारी प्राप्त हुन्छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रक्षेपणअनुसार नेपालमा करिब २९ हजार ८९८ विभिन्न प्रकारका क्यान्सरका रोगी छन् । क्यान्सरका रोगीको सूचना संकलनले क्यान्सर निवारणका लागि अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाउन, क्यान्सरका रोगीलाई राज्यले उपलब्ध गराउने सेवामा थप सहयोग जुटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास परिषद्का तालीम संयोजक विजय झाले व्यक्त गरे ।
वरिष्ठ जनस्वास्थ्य अधिकृतसमेत रहनुभएका झाका अनुसार विकसित मुलुकहरुमा जनसंख्या संकलन गर्ने क्रममा नै क्यान्सर रोगीका बारेमा सूचना संकलन गरी राज्यबाट सहयोग उपलब्ध गराउने गरिन्छ ।
यसैबीच, समुदायमा आधारित क्यान्सर रोगी दर्ताको काम कसरी गर्ने भन्ने विषयमा फ्रान्सका विज्ञ लेन्स मेरी र टाटा मेमोरियल क्यान्सर अस्पताल भारतका विज्ञ डा राजेश दीक्षितले आज सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई तालीम प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार  २ : ३३ बजे