काठमाडौं । आन्तरिक हवाइ सेवाप्रदायक यती एयरलाइन्स कम्पनीले कार्बन शून्य उत्सर्जक यात्रा तय गर्ने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहभागितामा उक्त यात्रा सुरु गरिएको यतिले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
एयरलाइन्सले विगत वर्षमा घटाउँदै लगेको कार्वन उत्सार्जनको अवस्थाका बारेमा प्रगति विवरण समेत सर्वाजनिक गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

नेपालको उड्डयन क्षेत्रमा गरेको यस किसिमको पहिलो अभ्यासले हवाईयात्रा, सवारी साधन र वायुसेवा सञ्चालनबाट उत्सर्जन हुने हरित गृह ग्यांसको अध्ययन गरेको थियो । यती एयरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले प्राधिकरण र युएनडीपीको सहयोगमा यती एयरलाइन्स कार्बन तटस्थताको दिशामा अघि बढ्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
‘यस्तो अभ्यास नेपालमा पहिलो हो यसले न्यून कार्बनपथमा अघि बढेको हाम्रो यात्रामा सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गरेका छौं’ उनले भने । युएनडीपीका प्रमुख रेनोड मेयरले यती एयरलाइन्सले आफुलाई जलवायु तटस्थ संस्थाका रुपमा रुपान्तरण गर्ने प्रतिबद्धतालाई स्वागत गर्दै यस कार्यले अन्य कम्पनीहरुलाई पनि दिगो विकासका लक्ष्य प्राप्त गर्ने दिशामा उन्मूख गराउने बताए ।

कार्यक्रममा सार्वजनिक गरिएको प्रारम्भिक तथ्याङक अनुसार सन् २०१७ मा यती एयरलाइन्सले १८ हजार १ सय ३३ टन कार्वन उत्सर्जन गरेको छ । यसको मुख्य स्रोत भनेको एयरलाइन्सको वायुयानहरुले प्रयोग गर्ने ईन्धन नै हो । उक्त कार्वनको मात्रा करिब ४ लाख ७० हजार रुख विरुवाले दश वर्षसम्म सिञ्चित गर्ने कार्बन बराबर हुनेछ । अध्ययनले यतीको नयाँ वायुयान थपसँगै गत वर्षभन्दा सन् २०१७ मा प्रति यात्रु ७ प्रतिशत र प्रति कि.मी. ११ प्रतिशत कार्बन उत्सर्जन घटेको छ ।
प्रमुख कार्यकारी अधिकृत राईका अनुसार यतीले भविष्यमा न्यून कार्बन उत्सर्जन गर्नका लागि कम इन्धन खपत हुने हवाइमार्गसंगै वायुयानमा थप्ने, कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र वायुयानमा प्रयोग हुने सामानहरुको भार घटाउनेमा जोड दिनेछ ।

१२ माघ २०७४, शुक्रबार
119
Shares







