एक हजार १२७ फिजियोथेरापी सेवाबाट लाभान्वित

Facebook Debugger

काठमाडौँ, २७ भदौ । भूकम्प अतिप्रभावित जिल्लाका एक हजार १२७ जनाले फिजियोथेरापी सेवा लिएर लाभान्वित भएका छन् ।

स्वास्थ्य मन्त्रालय, अपाङ्गता रोकथाम तथा पुनःस्थापना शाखा/कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा ह्याडिक्याप इन्टरनेसन नेपालले आज आयोजना गरेको ‘भूकम्प अतिप्रभावित जिल्लाका पुनःस्थापनाका लागि सहयोग सेवा सिकाइ गोष्ठी’मा एक हजार १२७ ले सेवा लिएर लाभान्वित भएको बताइएको हो ।

विगत १४ महिनादेखि भूकम्प प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङका जिल्ला अस्पताल तथा दोलखास्थित जिरी अस्पताल र चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रका साथै काठमाडौँस्थित नेसनल ट्रमा सेन्टरमा फिजियोथेरापी सेवा उपलब्ध गराइएको ह्याडिक्याप इन्टरनेसनलले जनाएको छ ।

सो संस्थाले विभिन्न सात स्थानमा फिजियोथेरापी÷पुनःस्थापना एकाइको स्थापनाकालदेखि हालसम्म जम्मा चार हजार ६१७ जना चोटपटक, हिँडडुल गर्न कठिनाइ भएका र अपाङ्गता भएका व्यक्ति सेवा लिएर लाभान्वित भएको सो संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, संस्थाले चार हजार ४२८ जना बिरामी तथा तिनका एक हजार ४२८ जना सहयोगीलाई पनि बिरामीको हेरचाह तथा पुनःस्थापनाको फाइदाबारे अभिमुखीकरण गराएको छ ।

हालसम्म सात फिजियोथेरापी÷पुनःस्थापना एकाइमार्फत ५५२ थान अपाङ्गता भएका व्यक्तिलाई दैनिक जीवनयापनमा सहयोग गर्ने ह्विलचियर, वैशाखीलगायत विभिन्न सहयोगी सामग्री वितरण गरेको स्वास्थ्य सेवा विभाग तथा कुष्ठरोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा वासुदेव पाण्डेले बताए ।

उनले भूकम्पपश्चात् घाइते भएका व्यक्तिमा थप जटिलता हुन नदिन र हिँडडुल गर्न सक्षम बनाउनका लागि सञ्चालित परियोजनाअन्तर्गत फिजियोथेरापी तथा पुनःस्थापना सेवा कार्यको उपलब्धि तथा सिकाइ प्रस्तुत गर्न गोष्ठीको आयोजना गरेको जानकारी दिए ।

कार्यक्रममा भूकम्पका बेला मात्र नभएर अन्य बेलामा पनि फिजियोथेरापी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र दैनिक सवारी दुर्घटनाबाट हुने घाइतेका लागि पनि सो सेवा आवश्यक रहेको बताए । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार