६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

प्रअ ओलीलाई कारबाही गर्न माग



ललितपुर । जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीको लापरबाहीका कारण घटना भएकाले उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
७ दिनसम्म हराएका बालक जोन तामाङ बुधबार फुलचोकीको जंगलमा भेटिएका हुन् । उनी भेटिनुभन्दा केही दिन पहिले नै प्रहरीले प्रधानाध्यापकलाई तारिखमा छाडिसकेको छ । जोनका ठूलोबुबा दीपक राईले जोन भेटिएकाले आफूहरु खुशी भए पनि प्रअलाई कारबाही हुने÷नहुनेमा शंका रहेको बताए ।
उनको लापरबाही रहेकाले कारबाही हुनुपर्ने राईले बताए । प्रअ विद्यार्थीको संरक्षक हुनुपर्नेमा उल्टो खतरा ठाउँमा पु¥याएको आरोप लगाउँदै उनले प्रअको लापरबाहीले गर्दा जोनले दुःख पाएका छन् । जोन ठीक भएपछि घटनाका विस्तृत विवरण थाहा हुनेछ, उनले भने, “लैजानु नै गल्ती हो, सजाय हुनुपर्छ ।”
अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारी प्रअलाई उसले गरेको गल्तीको सजाय हुनुपर्ने बताउँदै “खतरा हुने ठाउँमा एक्लै लामो गोरेटो बाटो हिँडाएर लैजानु नै गल्ती हो,”भने ।
शिक्षा नियमावलीमा प्रअको गल्तीका कारण विद्यार्थीले दुःख पाउँदा के सजाय हुने भन्ने किटान छैन, उनले भने, “जुनसुकै व्यवस्थाका आधारमा भए पनि उनलाई कारबाही हुनुपर्छ ।”
ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचाररत रहेका जोनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएको छ । जोन अहिले सामान्य बोल्ने र खाने भएका छन् । आमाबाहेक अरुलाई भेटेका भने छैनन् ।

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार  ३ : ०२ बजे