२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

शिक्षकलाई नगरपालिकाबाट तलब



काठमाडौँ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले शिक्षकको तलब आफैँ वितरण गर्न थालेको छ ।
संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको शिक्षाको अधिकार कार्यान्वयन गर्दै नगरपालिकाले आफ्ना नगरक्षेत्रका शिक्षकको तलब वितरण गर्न थालेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगरपालिकामा शिक्षा विभाग गठन गरेसँगै मंसिरदेखि नै नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकको तलब वितरण गर्न थालिएको हो ।
विभागका प्रमुख उपसचिव मित्रप्रसाद काफ्लेले नगरक्षेत्रभित्रका १५ विद्यालयका १०२ शिक्षकलाई तलब नगरपालिकामार्फत वितरण गर्न थालिएको बताए । चौमासिक रुपमा तलब पाउँदै आएका शिक्षकलाई नगरपालिकाले अब मासिक रुपमा दिइरहेको छ । “हामीले चौमासिक रुपमा दिँदै आएको तलबलाई मासिक रुपमा दिन थालेका छाँै”, उनले भने, “शिक्षक पनि मासिक रुपमा पाउने भएपछि खुशी भएका छन् ।”
नगरपालिकाले सम्बन्धित शिक्षकको व्यक्तिगत खातामा तलब पठाउने गरेको महेन्द्रग्राम मावि टीकाथलीका प्रअ भरतबहादुर खनालले बताए । यसैबीच नगरपालिकाले कक्षा ८ को परीक्षाको तयारी गरेको छ । मन्त्रालयले कक्षा ८ को परीक्षा नगरस्तरमा गर्ने भनेपछि तयारी गरिएको उपसचिव काफ्लेले बताए । उनका अनुसार परीक्षा सञ्चालनका लागि परीक्षा सञ्चालन, व्यवस्थापन र नियमन कार्यविधि २०७४ तयार पारिएको छ ।

प्रकाशित मिति : २० माघ २०७४, शनिबार  ३ : ०७ बजे