७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

बालीमा लाग्ने सबै कीरा शत्रु हुँदैनन्


२१ माघ २०७४, आइतबार  

7
Shares

नगरकोट, बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक नहुने सिकाउँदै चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले १६ हप्तासम्म किसानलाई कसरी रोग कीराबाट बाली जोगाउने र व्यवस्थापन गर्ने भन्ने विषयमा आयोजना गरेको सो तालिममा किसानले जमिनमा सत्रु किराका साथै मित्रु किरा हुने र विषादीको प्रयोगले मित्रु किरा पनि नास हुने जानकारी पाए ।

किसानले सानो समस्यामा पनि विभिन्न किसिमका विषादी प्रयोग गर्दा स्वास्थ्यका साथसाथै पैसाको पनि नास हुने भएकाले अबका दिनमा यस्ता कीराबाट बाली जोगाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै तालिम केन्द्रित रहेको परियोजनाका संयोजक किशोर पराजुलीले जानकारी दिए । किसानलाई प्रत्यक्ष रुपमा खेतमा नै लगेर शत्रु जीव र मित्र जीवको विषयमा जानकारी दिलाउनुनै कार्यक्रमको मुख्य लक्ष्य भएको बताउँदै उहाँले अब किसानले कुनै पनि सानातिना रोग लाग्दा भयानक विषादी प्रयोग नगरुन् भन्ने हेतुले नै यो कार्यक्रम थालनी गरिएको बताए ।

तालिमका प्रशिक्षक गंगाबहादुर माकले एकीकृत शत्रुजीव व्यवस्थापन तालिममा कृषकलाई कसरी रोगकीरा आफैँ व्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाउनु नै मुख्य लक्ष्य भएको र यसका लागि खेत तयार गर्नेदेखि बीउ छनोट, सिँचाइ, मलखाद र व्यवस्थापनसम्मका विषयबारे जानकारी दिइएकोे बताए।

छत्तीस किसान संलग्न सो तालिम समापनमा चाँगुनारायण नगरपालिका–८ का अध्यक्ष परासर सापकोटाले शत्रुु जीव र मित्र जीवका विषयमा किसानलाई सिकाउँदा बायो डाइभर्सिटी म्यानेजमेन्टमा पनि सघाउ पुग्ने बताए ।

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार  ९ : १५ बजे