२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

पहिलो प्रदेशसभा बैठकको लागि तयारी पूरा

बुद्धवीर बाहिङ



विराटनगर । पहिलो प्रदेशसभा बैठकको लागि सबै तयारी पूरा भएको छ । माघ २२ गते बस्ने प्रदेशसभा बैठकका लागि आवश्यक पूर्वाधार व्यवस्थापनको काम पूरा भएको प्रदेश सचिवालयका कर्मचारीले बताए ।

जिल्ला समन्वय समिति मोरङको भुइतलाको हललाई प्रदेशसभा सांसदको पहिलो बैठक बस्ने सभाहलका रुपमा प्रयोग गरिएको छ । सभा हलसँगै प्रदेशको सांसद सचिवालय पनि सोही भवनमा स्थापना गरिएकोे छ ।

बैठकस्थलमा प्रदेशसभा र सचिवालयको बोर्ड राखिएको छ । रंगरोगन गरेर नयाँ जस्तै बनाइएको हलभित्र १ सय ४० वटा कुर्सी राखिएका छन् । सीसी क्यामेरासहित श्रव्यदृष्यका लागि उपकरणहरु जडान भइरहेको छ । बैठक हलमा उज्यालोका लागि ‘लाइट’ जडान गरिएका छन् । जिल्ला समन्वय समितिको हलमा रहेकै कुर्सीलाई मर्मत सम्भार गरी प्रयोग गरिएको छ ।

हलको अगाडिको भागमा सभामुख, सांसद सचिवालयका सचिव र कार्यव्यवस्था समितिका लागि छुट्टाछुट्टै टेबुल र कुर्सी राखिएको छ । सभाहलमा सत्तापक्ष, सरकार पक्ष र प्रतिपक्षका लागि अलग–अलग लाइनमा निलो रंगको कार्पेट माथि कुर्सी लहरै राखिएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार  २ : २२ बजे