६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

एमालेको प्रदेश १ मा संसदीय दलको नेता छान्न निर्वाचन हुने निश्चित



विराटनगर । नेकपा एमालेभित्र संसदीय दलको नेता छान्न निर्वाचन हुने निश्चित भएको छ । मुख्यमन्त्री बन्ने दाउमा रहेका आकांक्षीहरु एमालेका पोलिटव्यूरो सदस्य शेरधन राई, केन्द्रीय सचिव भीम आचार्य र केन्द्रीय सदस्य जीवन घिमिरे मुख्यमन्त्रीका लागि एकअर्कासँग सम्झौता गर्न तयार नभएपछि शुक्रबार हुने एमाले प्रदेश १ को संसदीय नेता छान्नको लागि निर्वाचन निर्वाचन कमिटि गठन गरेको छ ।

केन्द्रीय नेतृत्वले सर्वसम्मत गर्ने प्रयास गरिरहेको कार्यकर्ताबीचमा चर्चा भए पनि आकांक्षीहरुको महत्वकांक्षीले गर्दा संसदीय दलको नेता छान्नको लागि सोमबार बसेको एमालेको १ नम्बर प्रदेश कमिटिको बैठकले निर्वाचन कमिटी गठन गरेको हो । निर्वाचन कमिटीको संयोजकमा प्रेम पोखरेल, सहसंयोजक चूडामिण आचार्य र सदस्यमा टीकाराम पुरी छन् ।
निर्वाचन कमिटीले मंगलबार संसदीय दलको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार माघ २६ गते विहान ११ बजे मतदाता नामावली प्रकाशन गर्ने, ११ः३० सम्म मनोनयन दर्ता गर्ने र सोही दिन २ बजदेखि ३ः३० बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ ।
९३ सदस्यीय प्रदेशसभामा एमाले एक्लैको ५१ सदस्य छ । निर्वाचन भएमा तीनैमध्येले बहुमतीय प्रक्रियाबाट एकजनालाई संसदीय दलको नेता चुन्ने छन् । जो संसदीय दलको नेतामा निर्वाचित हुन्छ सोही व्यक्ति प्रदेश १ को मुख्यमन्त्री हुने निश्चित जस्तै छ । स्रोतका अनुसार एमाले स्थायी कमिटीले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयनका लागि प्रयास गरिरहेको भए पनि आकांक्षीहरुले मैदान नछाड्ने भएपछि निर्वाचन नै हुने बढी सम्भावना बढेको छ ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार  ५ : ४३ बजे