२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

एक दशकमा त्रिशूलीले निल्यो ६२४ जना, मन्त्रिपरिषद् निर्णय बदर गर्न वाम गठबन्धनको संसदमा विशेष प्रस्ताव

७ मध्ये ६ प्रदेशका मुख्यमन्त्री निश्चित



काठमाडौं । त्रिशूली नदी किनारा हुँदै सडकमार्गमा यात्रा गर्ने सबै यात्रुहरुलाई यो क्षेत्रमा हुने दुर्घटनाको समाचारले सधैं झस्काइरहन्छ । हुन पनि त्रिशूली नदी किनारको सडक दुर्घटनामा परी एक दशक यता झण्डै ६ सय २४ जनाले ज्यान गुमाएका छन् भने कम्तीमा पनि ११ सय बढीको अंगभंग भएको छ ।

जनता पोस्ट दैनिकका अनुसार शनिबार तीन भीआईपी बेपत्ता पारेको त्रिशूलीले गएको ५ महिनामा मात्रै ६३ जनालाई निलीसकेको छ ।असोजयता ७९ जना गम्भीर घाइते भएका छन् ।
गएको आर्थिक वर्षको तथ्यांक अनुसार त्रिशूलीमा ११ सय सवारी दुर्घटना भएका थिए । त्यसकारण पनि मध्यक्षेत्र प्रहरी कार्यालयले यो सडकलाई दुर्घटनाको रेड जोनमा राखेको थियो ।
वाम रणनीतिः मन्त्रिपरिषद् निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सरकारले बदर गर्ने तयारी गरेको छ ।
सरकारले गरेका निर्णय बदर गर्दा अदालती बाटोबाट निर्णय उल्टन सक्ने भन्दै वाम गठबन्धनका नेताले संसदमा विशेष प्रस्ताव पास गरी सबै निर्णय बदर गर्ने तयारी गरेको राजधानीमा समाचार छ ।
समाचार अनुसार सरकारले गरेको निर्णय खारेज तथा बदर गर्न मन्त्रिपरिषद्ले निर्णय गरे पुग्नेमा वाम गठबन्धनको सरकारले त्यस्तो निर्णय उल्ट्याउन नसक्नेगरी निर्णय बदर गर्ने बाटो रोज्ने तयारी गरेको समाचारमा उल्लेख छ ।
७ मध्ये ६ प्रदेशका मुख्यमन्त्री निश्चित
सात प्रदेशमध्ये ६ प्रदेशका भावी मुख्यमन्त्रीको नाम करिब तय भएको छ । वाम गठबन्धनको बहुमत रहेको प्रदेश ४ मा भने एमालेले अझै संसदीय दलको नेता चयन गरेको छैन ।
संवैधानिक व्यवस्थाअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हुँदा मुख्यमन्त्रीको भावी नेतृत्व पनि दलको नेता चयनसँगै टुंगो लागेको गोरखापत्र दैनिकमा समाचार छ । संवैधानिक व्यवस्थाअनुसार अब प्रदेश प्रमुखले मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाउनुपर्नेछ ।
समाचार अनुसार प्रदेश १ मा शेरधन राई, २ मा लालबाबु राउत र ३ मा डोरमणि पौडेल मुख्यमन्त्री हुने निश्चित भएको छ । प्रदेश ४ मा भने अझै टुंगो लाग्न सकेको छैन । ५ मा शंकर पोखरेल मुख्यमन्त्री बन्दै छन् भने ६ मा महेन्द्र शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री हुँदैछन् ।

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार  २ : ४० बजे