लेखनाथका पहिरोपीडितलाई राहत वितरण

पोखरा, २८ भदौ । लेखनाथ नगरपालिका–४ पैतेडाँडाका पहिरोपीडितलाई सोमबार एक कार्यक्रमबीच राहत वितरण गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति, कास्कीले पहिरोले पुरिएर ज्यान गुमाएका चारमध्ये तीन जनाको परिवारलाई जनही एक लाखका दरले राहत प्रदान गरिएको हो । समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीसहितको टोली घटनास्थलमा पुगी मृतकका दाजु सुजन सुनारलाई तीन लाख रुपैयाँ प्रदान गरेका थिए ।

मृतकमध्येका हेटौँडाका सल्मान तामाङका आफन्त पोखरा आएपछि राहत प्रदान गरिने जिल्ला प्रशासन कार्यालयका लेखापाल महेश सिग्देलले जानकारी दिए ।

अविरल वर्षाका कारण यही भदौ २३ गते राति पहिरोले घर पुरेपछि चन्द्रकला सुनारका तीनजना छोराछोरी र एक नातिको पहिरोले पुरिएर मृत्यु भएको थियो । उनका श्रीमान् कीर्तबहादुर सुनार घटना हुनुभन्दा एक दिनअघि वैदेशिक रोजगारमा गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार