नुवाकोटमा ५४ हजारसँग अनुदान सम्झौता

0 Shares

नुवाकोट, २८ भदौ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले दिने अनुदानको सम्झौता नुवाकोटमा सोमबारसम्म ५४ हजारभन्दा बढीको भएको छ । गाउँ विकास समिति र नगरपालिकाले धमाधम अनुदान सम्झौता गरिरहेका छन् ।

सरकारले निजी आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ उपलब्ध गराउनका लागि अनुदान सम्झौता गराइरहेको छ । अहिलेसम्म ५४ हजार ११४ जना भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको जिल्ला विकास समितिको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख लोकनाथ रेग्मीले बताए ।

निजी आवास अनुदान रकम सम्झौता भएकाको नाममा गाविसले माग गरी रकमसमेत तोकिएको बैंकमा निकासा भइरहेको इकाईले जनाएको छ । हालसम्म २९ हजार १२३ जना भूकम्पपीडितको खातामा अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गइसकेको छ । पहिलो किस्ताका लागि गैरसरकारी संस्थाबाट पनि एक हजार ७४९ जनालाई पहिलो किस्ताको रकम प्रदान गरिएको छ ।

नुवाकोटमा सरकारले २९ हजार १२३ जनाका लागि एक अर्ब ४५ करोड ६१ लाख ५० हजार रुपैयाँ पीडितलाई उपलब्ध गराइसकेको छ भने गैरसरकारी संस्था नेपाल रेडक्रस, वल्र्ड रिन्यु लगायतले एक हजार ७४९ जनालाई पहिलो किस्ताबापतको आठ करोड ७४ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ ।

सरकारले भूकम्पपीडित लाभग्राही सूचीमा ६५ हजार ७५९ जनाको नाम निस्केको छ भने नुवाकोटमा नौ हजार ६२३ गुनासो दर्ता भएको छ । भूकम्पपीडित लाभग्राहीको सूचीमा नाम छुटेका र अन्य गुनासोलाई गाविसले केन्द्रीय आयोजना कार्यान्वयन इकाईको गुनासो व्यवस्थापन शाखामा दर्ता गराईसकेकाले उनीहरुको पनि छिट्टै सुनुवाइ हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय नुवाकोटले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार