म्याग्दीमा बहुमूल्य बोधिचित्तका बिरुवा रोपियो

7 Shares

म्याग्दी, १२ भदौ । बेनी नगरपालिका–५ डम्बरामा बहुमूल्य बोधिचित्तका बिरुवा रोपण गरिएको छ ।

हालै म्याग्दीको सदरमुकाममा गठन भएको लायन्स क्लब अफ बेनी पिस सिटीले शनिबार सुन्दर डम्बर टोल सुधार समितिसँग सहकार्य गरी शिव मन्दिरको गुठी आसपासका क्षेत्रमा ३५ वटा विधिचित्तका बिरुवा रोपण गरिएको हो ।

लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष राजेश शाक्यले क्लबमार्फत समुदायको आयआर्जनमा केन्द्रित गर्ने कार्यक्रमको योजना अनुसार बोधिचित्तका बिरुवा रोपण गरेर सामाजिक कार्यको सुरुवात गरिएको बताउनुभयो ।

बौद्धधर्मालम्बीहरू जप गर्दा प्रयोग गरिने पवित्र माला बोधिचित्तको १०८ वटा दानालाई उनेर बनाइन्छ । बोधिचित्तको मालाबाट जप, ध्यान र मन्त्रोच्चारण गर्दा चिताएको पुग्ने, सिद्धि प्राप्त हुने, अन्जानमा गरेको पाप काटिने र मृत्युपछि पनि शान्ति प्राप्त हुने विश्वास रहेकाले पनि नेपालका केही जिल्लामा यसको व्यावसायिक खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।

समुद्र सतहबाट ४०० देखि २५ सय मिटरसम्म लगाउन सकिने भएकाले म्याग्दी जिल्लाको जमिन तथा माटोसमेत बोधिचित्तका लागि उपयुक्त मानिन्छ । बोधिचित्तका बिरुवा लगाएको दुईदेखि तीन वर्षभित्र वर्षमा दुईपटक फल दिन्छ ।

वैशाख, साउन–भदौमा दुईपटक फुल्ने र असार–साउन र असोज–कात्तिकमा पाक्ने गर्दछ । एउटै रुखबाट लखपती बन्न सकिने भएकाले पनि रोपिएका बिरुवाको संरक्षण गर्न डम्बरावासीले संरक्षण समिति बनाएको सुन्दर डम्बरा टोल सुधार समितिका कृष्णबहादुर बानियाँले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार